देशभरका १७ पालिकाको मत परिणाम सार्वजनिक : एमाले ६, काँग्रेस ६, माओवादी ३ र समाजवादीको २ पालिकामा जित


काठमाडौं,१ जेठ । स्थानीय तह निर्वाचनको मत गणना चलिरहेका बेला देशभरका १७ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । आज (आइतबार) बिहानसम्मको नतिजाअनुसार नेकपा एमाले र नेपाली काँग्रेसले ६ र ६ पालिकामा जित हात पारेका छन् ।

यसअघि एमालेले ६ पालिका जितेर पहिलो थियो । तर काँग्रेसले जित्ने क्रममा बढाउँदै लगेर बराबरी गरेको हो । यस्तै नेकपा माओवादी केन्द्रले पनि तीन पालिकामा जितेको छ भने नेकपा एकीकृत समाजवादीले २ पालिकामा जितेको छ । मधेसवादी र अन्य दलले भने खाता खोल्न सकेका छैनन् ।

एमाले
शे-फोक्सुन्डो

डोल्पाको शे-फोक्सुन्डो गाउँपालिका अध्यक्षमा नेकपा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध भइसकेका छन् । यो गाउँपालिका अध्यक्षमा एमालेका गुरुङ बाहेक अरूको उम्मेदवारी परेको थिएन ।

गुरुङ नेकपा एमालेका डोल्पाका उपसचिव हुन् । उनले गाउँपालिकाको ९ वटा वडामध्ये ६ वटामा एमालेका उम्मेदवारको क्लिन स्वीप भएको बताए । गुरुङका अनुसार वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्वाचित भएका छन् ।

गुरुङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्विरोध भएको छ । त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल निर्विरोध भएको छ । वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ ।
त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल निर्विरोध भएको छ । वडा नम्बर ७ मा पेमा छिरिङ गुरुङको प्यानल निर्विरोध भएको छ । त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल निर्विरोध भएको छ ।
चामे
मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन् । ६१० मत खसेको गाउँपालिकामा उनले ३२० मत प्राप्त गरेका हुन् । निकटतम प्रतिद्वन्द्वी काँग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाएका छन् । उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै काँग्रेसकी मिङमार डोमा लामा विजयी भइन् ।

०७४ को चुनावमा पनि यो पालिकाको अध्यक्ष पद एमालेका घलेले नै जितेका थिए । उपाध्यक्ष पद काँग्रेसले नै जितेको थियो । यस पटक एमाले र काँग्रेस दुवैले आफ्नो सिट सुरक्षित गरेका छन् ।

लो-घेकर दामोदरकुण्ड

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देव बहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन् । २०७४ मा विष्ट स्वतन्त्र रूपमा निर्वाचित भएका थिए । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् ।

मनाङको ङिस्याङ

एमालेले मनाङको ङिस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेबाट पालिका अध्यक्ष उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका हुन् । काँग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाए । उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याई विजयी भए । काँग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत पाए ।

मुस्ताङ वारागुङ

मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका अध्यक्ष रिङजिन नामगेल गुरुङ ८६७ मत ल्याई विजयी भएका हुन् । अध्यक्षमा काँग्रेसका आङ्जेन गुरुङले ५७७ मत मात्रै ल्याएका छन् ।
उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ ७४९ मत ल्याई विजयी भएकी छन् । काँग्रेसकी धेच आङमो गुरुङले ६७७ मत ल्याएकी छन् । गाउँपालिकामा २ हजार ६११ जनसंख्या रहेको छ । कुल मतदाता २ हजार २४४ रहेका छन् ।

शे-फोक्सुन्डो

त्यस्तै एमालेले डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा धावा सम्डुक गुरुङ निर्विरोध निर्वाचित भएका थिए ।

नेपाली काँग्रेस

मनाङको नार्पाभूमि

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनी १५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत पाएका छन् ।

खसेको ३०४ मतमध्ये ३५ मत बदर भएको छ । उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन् । नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली काँग्रेसले नै जितेको थियो । त्यस बेला यहाँ निर्विरोध निर्वाचन भएको थियो ।

मुस्ताङको घरपझोङ

मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली काँग्रेसका मोहन सिंह लालचन विजयी भएका छन् । लालचनले ७ सय ६० मत ल्याउँदा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत ल्याएका छन् । २०७४ मा नेकपा एमालेको तर्फबाट आस बहादुर थकाली विजयी भएका थिए ।

उपाध्यक्षमा काँग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी भएकी छन् । एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याएकी छन् ।

मनाङको नासो

मनाङको नासो गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् । काँग्रेसबाट धनबहादुर गुरुङ ८२० मत ल्याई निर्वाचित भएका हुन् । उपाध्यक्षमा माओवादीका वेदबहादुर गुरुङ ९१३ मत प्राप्त गरेका छन् । अध्यक्षमा एमालेका मनबहादुर गुरुङ ६४६ मत प्राप्त गरेका छन् । उपप्रमुख स्वतन्त्रबाट अर्विन गुरुङले ४९६ मत ल्याए ।

गुल्मीदरबार

गुल्मीको गुल्मीदरबार गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार सरोज कुमार थापा विजयी भएका छन् । थापाले ६ हजार १६६ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण बहादुर भुसालले ५ हजार ६०२ मत हात पारे ।

गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली काँग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसबाट वडा नम्बर १ मा राजेन्द्र कँडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट वडा नम्बर २ मा विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधि पौडेल निर्वाचित भएका छन् ।

रेसुङ्गा

गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका नगरपालिका प्रमुखका उम्मेदवार खिलध्वज पन्थी ८ हजार ६ सय १४ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे ७ हजार ३ सय २० मत ल्याए । यस्तै उपप्रमुखमा पनि नेपाली काँग्रेसकै अमृता देवी कुँवर ८ हजार ६ सय १९ मत ल्याएर विजयी भइन् । उनलाई एमालेकी रिता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन् ।

गन्यापधुरा

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गन्यापधुराको अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेठी देउवा विजयी भएका हुन् । नेपाली काँग्रेस बीपीका उम्मेदवार सुरेन्द्र मालीलाई पराजित गर्दै कार्की अध्यक्षमा विजयी भएका हुन् ।

सहायक निर्वाचन अधिकृत दिलीप तामाङका अनुसार कार्कीले ३ हजार १८४ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी मालीले १ हजार ६०५ मत ल्याएका छन् । नेकपा एमालेका इन्द्रबहादुर महरालाई पराजित गर्दै काँग्रेसकी सेठी उपाध्यक्षमा विजयी भएकी हुन् । उनले ३ हजार १३ मत ल्याउँदा महराले १ हजार ७०३ मत पाएका छन् ।

गन्यापधुरा वडा नम्बर १ मा काँग्रेस बीपीका नरेश भण्डारी, २ मा काँग्रेसका मनोज देउवा, ३ मा चक्रबहादुर देउवा, ४ मा नरेश भट्ट र ५ मा चन्द्रप्रकाश रोस्यारा वडाध्यक्षमा विजयी भएका तामाङले जानकारी दिए ।

माओवादी केन्द्र

जगदुल्ला

यो निर्वाचनमा स्थानीय तहमा नेकपा माओवादी केन्द्रले पहिलो जीत निकालेको हो डोल्पाबाट । माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँ पालिकाबाट विजयी सुरुवात गरेको थियो । उक्त पालिका अध्यक्ष, उपाध्यक्ष नै माओवादीले जीत निकालेको हो ।

आयोगका अनुसार पालिकाको अध्यक्षमा नारासिंह रोकाया ७ सय ७० मत ल्याएर विजयी भएका छन् । यहाँ नेकपा एमालेका हेमबहादुर महतराले ७४६ मत ल्याउँदै पराजित भएका छन् । यस्तै उपाध्यक्षमा पनि अमरिता बोहरा ७५९ मत ल्याएर विजयी भइन् । पराजित एमालेकी चन्द्रावति थापाले ७४९ मत ल्याइन् । जगदुल्लामा काङ्ग्रेस/एमाले/समाजवादी गठबन्धनविरुद्ध माओवादी केन्द्र एक्लै लडेको थियो । यसै गरी उक्त पालिकामा माओवादी केन्द्रले ४, ५ र ६ गरी ३ वडा अध्यक्ष पनि जितेको छ ।

नौमुले

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले जित निकालेको छ । एकीकृत समाजवादीसँग तालमेल गरेर उठेका माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा जित निकालेका हुन् । त्यहाँका निर्वाचन अधिकृत हरि प्रसाद घिमिरेले यसको पुष्टि गरेका छन् ।

सुवेदीले ३ हजार २ सय मतसहित गाउँपालिका अध्यक्ष पद पक्का गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भदे बुढामगरले २ हजार ५४४ मत ल्याए । यहाँ एमालेका उम्मेदवार शशीराम विश्वकर्माले १९२० मत ल्याएका छन् । यो गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही २८ सय ३४ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अमृता सिंहले २४०५ भोट ल्याइन् । उपाध्यक्षमा एमालेकी गीता चन्दको पक्षमा १९ सय १८ मत मात्रै पर्‍यो । दैलेखमा माओवादी शान्ति प्रक्रियामा आएपछिका सबै चुनावमा एमाले विजयी हुने गरेको थियो ।

दैलेखमा माओवादीले कुनै चुनाव जित्न सकेको थिएन । यसअघि वडाध्यक्षसमेत नजितेको माओवादीले समाजवादीसँगको तालमेलपछि पहिलो पटक परिणाम आफ्नो पक्षमा पारेको छ ।

अपिहिमाल

दार्चुलाको अपि हिमाल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई पराजित गर्दै विजयी भएका हुन् ।

एकीकृत समाजवादी

काइके

नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका अध्यक्षमा अंगद कुमार राना निर्विरोध भएका थिए । उपाध्यक्षमा काँग्रेसका निमा बुढा निर्विरोध भएका थिए । २०७४ मा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
डोल्पाकै छर्का ताङसोङ गाउँपालिकामा नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निर्विरोध भएका थिए । २०७४ मा उनी स्वतन्त्रबाटै पालिका अध्यक्ष बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्