अर्जुनधारामा मृत अवस्थामा फेला परेकी महिलाको हत्या गरेर फालिको माइतीपक्षको आरोप


झापा, १ जेठ । अर्जुनधारा झापामा मृत अवस्थामा फेला परेकी महिलाका आफन्तले आत्महत्या नभएर उनको हत्या गरेर फालिएको हुनसक्ने आशंका गरेका छन् । अर्जुनधारा –४ मदनपुरकी ३३ वर्षीय सीता गिरीका नामले चिनिने प्रशना गिरी सोही वडामा रहेको टाङटिङ खोलामा शनिवार मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको शनिश्चरे–खुदुनाबारी जाने बाटोमा रहेको टाङटिङ पुलदेखि करिब १ किलोमिटर दक्षिणमा पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो । चारो खोज्ने क्रममा स्थानीयले बिहान खोलामा लास देखेर परिवारलाई खबर गरेको बत्ताइएको छ । स्थानीय डम्बर राई आफूले सुँगुरलाई चारो खोज्ने क्रममा लास देखेर गाउँलेलाई खबर गरेको बताए । उनले भने “मैले सुँगुरलाई चारो खोज्ने क्रममा लास देखेर एक जना गाउँले दाजुलाई खबर गरेको हुँ ।“ ९ बजे लास भेटिएको बताइए पनि उनले समयको बारेमा भने यकिन गर्न सकेनन् ।“सायद ९ वा १० बजेको हुनसक्छ“ घटनास्थलमा भेटिएका राईले भने ।

मृतकका सहोदर दाजु विनोद गिरी लासको प्रकृति हेर्दा आत्महत्या नभएर हत्या गरेर फालिएको बताउँछन् । उनी भन्छन् –बहिनीले आत्महत्या गर्नु पर्ने कुनै कारण नै छैन । केही कारण भएको भए हामीलाई भन्ने थिइन । यो सरासर हत्या नभएर सरासर हत्या नै हो ।“ बिहान ५ बजे हराएकी भनिए पनि घरबाट निस्केको कसैले पनि नदेखेको बताउँछन् । मृतकका श्रीमान् सन्तोष गिरी भने बेलुका आफू केही ढिलो सुत्न आएको, आउँदा श्रीमती नानी लिएर सुतिरहेको तर बिहान कति बजे निस्किन भनेर थाहा नभएको बताउँछन् । घटना रहस्यमय भएको मृतकका आफन्तको बुझाइ रहेको छ ।

पाँच बजेतिर हराई भन्नू, घरबाट निस्केको कसैले पनि नदेख्नु, शरीरमा कुनै चोटपटक नदेखिनु, आत्महत्या गर्ने कारण केही नहुनु आदिले पनि घटना शङ्कास्पद भएको माइती पक्षको बुझाइ रहेको छ । केहीले भने घटनामा मृतकका परिवारकै मिलेमतो हुनसक्ने पनि आशंका गरेका छन् । घटनासँग जोडिएका सबै तथ्यलाई मिहिन रूपमा छानबिन गरिदिन, घटनामा देखिएका दोषीलाई हदैसम्मको कारबाही गर्न माइती पक्षकाले प्रहरीसमक्ष अनुरोध गरेका छन् । माइती पक्षको अनुरोधमा प्रहरीले तालिमप्राप्त कुकुरसमेत झिकाएको थियो । तर पानीभित्र लास रहेकोले कुकुरबाट पनि कुनै रहस्य पत्ता लाग्न सकेन ।

मृतकको प्रकृति हेर्दा खोलाले बगाएको जस्तो नदेखिएको, कपडा दुरुस्तै भएकाले मारेर फालिएको हुनसक्ने माइती पक्षको आशंका रहेको तर सबै कुरा पोस्टमार्टम रिपोर्टले बताउने प्रहरीको भनाइ रहेको छ । घटनास्थलको मुचुल्का तयार पार्न डिएस पि रुगम बहादुर कुँवरको नेतृत्वको प्रहरी टिम खटिएको थियो । शनिवार लासको मुचुल्का तयार पारेर पोस्टमार्टमका लागि घोपा पठाइएको छ । आठराई –२ खाम्लालुङ, तेह्रथुम माइती घर भएकी मृतक सिताको अर्जुनधार –४ मदनपुर निवासी सन्तोष गिरीसँग २०६९ माघ २९ गते विवाह भएको थियो । उनीहरूका एक जना पाँच वर्षीय छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्