पूर्वोत्तर मोरङकी एक मात्र विजयी महिला वडाध्यक्ष, सुनिता चौधरी


बेलबारी, ६ जेठ । बेलबारी नगरपालिका ७ नं वडामा सुनिता चौधरी वडा अध्यक्षमा निर्वाचित भएकी छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी विन्द्रेश चौधरीलाई ४० मतले पछि पार्दै नेकपा एमालेका उम्मेदवार चौधरी वडा अध्यक्षका रूपमा विजयी भएकी हुन् ।

माओवादी केन्द्रका विन्देश चौधरीले ८३० मत ल्याउँदा नेकपा एमालेबाट वडा अध्यक्षकी उम्मेदवार चौधरीले ८९७ मत ल्याएर विजयी भइन् । नेकपा एमाले बेलबारी नगर कमिटीकी उपसचिवसमेत रहेकी चौधरी सम्भवत बेलबारी मात्र नभएर पूर्वोत्तर मोरङकै एक मात्र विजयी महिला वडा अध्यक्ष बन्न सफल भएकी छन् । उनी बेलबारीको सबै भन्दा कान्छी वडाध्यक्ष पनि हुन ।

बेलबारी ७ मा अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले वडाध्यक्ष जितेको थियो । तर यो निर्वाचनमा भने काँग्रेस तेस्रो स्थानमा मात्र आउन सफल भयो । नेकाका निवर्तमान वडा अध्यक्षसमेत रहेका चेतबहादुर बस्नेतले ८३० मत प्राप्त गरे । त्यस्तै महिला सदस्यमा तीर्थ आचार्य, दलित महिला सदस्यमा विमला सरदार र खुल्ला सदस्यमा रामकुमार घिमिरे र जीवन खनाल रहेका छन् । खनाल भने माओवादी केन्द्रबाट विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्