सुन्दरहरैँचाका मेयरका उम्मेदवार ढकाल भन्छन्,“काँग्रेसका सभापतिले एमालेमा भोट हाने”


सुन्दरहरैँचा, ७ जेठ । सुन्दहरैँचाका नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार शिवप्रसाद ढकालले काँग्रेसका नेताले सूर्यमा मतदान गरेको आरोप लगाएका छन् । निर्वाचनको मत परिणाम एमालेका उम्मेदवार केदार प्रसाद गुरागाईँको पक्षमा जान थाले पछि उनले यस्तो आरोप लगाएका हुन् ।

सुरु देखि नै अग्रता लिइरहेका सुन्दरहरैँचा नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका ढकाल शुक्रवार साँझपछि एमालेका केदारप्रसाद गुरागाईँभन्दा पछि परिरहेका छन् । आफ्नो अग्रता रोकिएर एमालेले अग्रता लिए पछि उनले यस्ता आरोप लगाएका हुन् । उनले शनिवार बिहान फेसबुक स्टाटसमार्फत मोरङ काँग्रेसका ६ नम्बर क्षेत्रका सभापति देबु तामाङ र नगर सभापति भक्ति सिटौलाले सात सूर्यमा भोट हलाएको उल्लेख गरेका छन् ।

ढकालले “सुन्दरहरैँचामा उनीहरूको असली अनुहार क–कस्ले चिनेको छ“ भन्दै स्थानीय निर्वाचनमा उनीहरूको भूमिका र काँग्रेस हराउन खोज्ने अरूको नाम पनि सिलसिलेवार आउने बताएका छन् । पछिल्लो गणनाअनुसार एमालेका मेयर उम्मेदवार गुरागाईँ १८ हजार ७६९ मतसहित अग्रस्थानमा छन् भने ढकालले १८ हजार ४१९ मतका साथ पछ्याइरहेका छन् ।

सुन्दरहरैँचामा मेयर पदमा काँग्रेस, माओवादीबिच गठबन्धन भएको थियो । उता उपमेयरमा एमालेकी अकली चौधरीको जित सुनिश्चित भइसकेको छ । उनी गठबन्धनका उम्मेदवार नवराज चापागाईँ भन्दा धेरै अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्