बेलबारी २ मा रहेको आधारभूत केन्द्रलाई स्वास्थ्य सामग्री वितरण


बेलबारी, १३ जेठ । बेलबारी नगरपालिका वडा नं २ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । आज एक कार्यक्रमका बिच बेलबारी नगरपालिकाकी पूर्व नगर कार्यपालिका सदस्यसमेत रहेकी खीनमाया थापाले वडा अध्यक्ष कृष्णबहादुर गुरुङलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिन् ।

हालै सम्पन्न स्थानीय निर्वाचनमा सोही वडामा अध्यक्षको उम्मेदवार समेत रहेकी थापाको सक्रियतामा स्वास्थ्य मन्त्रालयबाट प्राप्त भएका १५ थान अक्सिजन सिलिण्डर, थर्माेगन, ग्लोभ लगायतका सामग्री आधारभूत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो । सामग्री स्वास्थ्य मन्त्रालयले प्रदान गरे पनि ढुवानीमा भने व्यक्तिगत लगानी भएको सामग्री उपलब्ध गराउन सक्रिय भूमिका निभाएका स्थानीय विक्रम मैनाली बताउँछन् । थापाले वडामा रहेको स्वास्थ्य केन्द्रलाई यी सामग्री उपलब्ध गराउन सकेकोमा खुसी व्यक्त गरिन् ।

वृद्ध बुबा–आमा तथा बालबालिकालाई समेत यसको नियमित आवश्यकता पर्ने देखेर आफूहरूले यी सामग्रीका लागि पहल गरेको, बाँकी थप सामग्रीको माग गरिएको पनि उनले बताइन् । उपलब्ध सामग्रीले वडाका जनतालाई सेवा पुग्ने आसा गर्दै निर्वाचनमा आफू पराजित भए पनि वडावासीको सेवामा लागिरहेको पनि बत्ताइन् । वडा अध्यक्ष गुरुङले सामग्रीको उचित व्यवस्थापन गरिने प्रतिबद्धता जनाउँदै वडाका लागि स्वास्थ्य सामग्री ल्याउन पहल गरेकोमा धन्यवादसमेत दिए । स्वास्थ्य सामग्री वितरणमा वडा सदस्यहरू मञ्जु रिजाल, माधवराज निरौला, दीपक लिम्बू, बन्द विश्वकर्मा र वडा सचिव राजेन्द्र खतिवडाका साथै स्थानीयको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्