कोशी अस्पतालमा फोहोर गर्नेलाई कारबाही गर्ने : संरक्षण नगर्न दलहरूलाई आग्रह


विराटनगर, १३ जेठ ।  कोशी अस्पतालको सुधारको लागि सरसफाइबाट काम सुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । तत्काल गर्न सकिने काम सरसफाइ नै भएको कारण अहिलेलाई सरसफाइमा कडाइ गर्ने अस्पताल प्रशासनको तयारी छ । संवाद समूहको आयोजनामा विराटनगरमा भएको संवादको क्रममा अस्पताल विकास समिति र अस्पताल प्रशासनले फोहोर मैला व्यवस्थापन गर्न कानुनी कारबाहीमा जाने तयारी गरेको हो ।

अस्पताल प्रवेश गर्दा देखिनै धूम्रपान र मद्यपान प्रवेश गरेर अस्पतालभित्र प्रवेश नदिइने, यदि सुर्ती तथा सुर्तीजन्य पदार्थ प्रयोग गर्दै कार्यालय परिसर भित्र प्रवेश गरी मनपरी थुक्ने, फोहोर फाल्ने गरेको पाइएमा कानुनी प्रक्रियामा लगिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट यज्ञ खरेलले बताए । ‘धूम्रपान र मद्यपान प्रयोग गर्दै कोशी अस्पताल भित्र प्रवेश गर्ने गरिएको छ, जसले अस्पताललाई कुरूप बनाउने काम गरेको छ, उनले भने, अस्पताललाई सफा बनाउने अभियानमा मेरो दृढ इच्छाशक्ति छ, त्यो अभियानमा दलहरूले सहयोग गर्नु पर्छ ।’

अस्पताल भित्र, विभिन्न बहानामा फोहोर गर्नेलाई कानुन अनुसार कारबाही गरेर जाने उनले बताए । अस्पताल प्रशासनले अस्पताल भित्र फोहोर व्यवस्थापन गर्ने बारेमा सूचना टाँस्ने, प्रचार प्रसार गर्ने र त्यो बारेमा जानकारी दिन कर्मचारीको व्यवस्थापन गर्ने र अटेर गरेको पाइएमा कार्यवाही जाने उनले बताए । अस्पताल प्रशासनले तत्काल हेल्प डेस्क सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाएको छ । अस्पतालमा उपचार गर्न गएका नागरिक अन्यौलता पर्ने, घुमेको घुमेकै गर्ने तर उपचार गर्ने ठाउँ नपाएको गुनासो आएपछि अस्पतालले तत्काल हेल्पडेस्क सञ्चालन गर्ने जनाएको हो ।

अस्पताल भित्र दिइने सेवा र डाक्टर रहने समयको बारेमा जानकारी दिने खालका बोर्ड र सङ्केतहरू राख्ने पनि अस्पताल प्रशासनले प्रतिबद्धता जनाएको छ । कोशी अस्पतालमा कार्यालय समयमा पनि डाक्टर नबस्ने गुनासा आएपछि त्यसलाई कडाइका साथ कार्यान्वयनमा लग्नकालागि बोर्ड सहित कुन सेवा कहाँ लिन पाइन्छ भन्ने सङ्केतहरू राखिने अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले जानकारी दिए । संवाद समूहको समन्वयमा अस्पताल प्रशासन र दलहरूका बिच अस्पताल भित्रै हरेक महिना नियमित गर्ने अस्पताल प्रशासनले प्रस्ताव गरेको छ।

हामी सघाउँछौँ : दल

सामान्य समस्याले पनि बिरामीलाई असजिलो हुने गरेको छ । अस्पताल प्रवेश गर्ने मुख्य गेटमा सिटी र अटोको कारण बिरामी तथा एम्बुलेन्सलाई आवत जावतमा समस्या हुने गरेपछि त्यसलाई व्यवस्थापन गर्न अस्पताल प्रशासनले ट्राफिक प्रहरीको सहयोग लिने बताएको छ । अस्पतालको गेट देखि भित्रैसम्म सिटी र अटोका कारण समस्या रहेकोले त्यसलाई व्यवस्थापन गर्न नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले सुझाव दिएका थिए । उनले हिजो अस्पतालको तर्फबाट भएको प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरे । ‘कोशी अस्पतालको केही सुधार भएको देखिए पनि शत् प्रतिशत कामहरू पुरा भएको देखिँदैन , उनले भने, दलहरूको तर्फबाट गर्नु पर्ने सहयोगमा कुनै कमी भएको छैन, अस्पताल प्रशासनले गरेको प्रतिबद्धता कार्यान्वयन गर्नु प¥यो ।’

उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले सूचना प्रणालीलाई व्यवस्थित गर्नु पर्ने बताए । अनुहार चिनिने मान्छे गयो भने सहजै उपचार पाउने र नयाँ व्यक्ति उपचारको लागि गयो भने अलमल पर्नु पर्ने अवस्थाको अन्त्य गर्न उनले आग्रह गरे । अस्पतालमा उपचारको लागि पुगेका सेवाग्राहीले सोधेको प्रश्नको जवाफ नदिने, सोध्यो भने झर्किएर जवाफ दिनुले नागरिकप्रतिको अन्याय हुने उनको तर्क छ ।

नेपाली काँग्रेसका उपसभापति भक्तिनाथ माझीले सरसफाइमा धेरै काम भए पनि नागरिकका समस्यामा अस्पतालले अझै काम गर्न नसकेको बताए । ‘नागरिकलाई समस्या परेको बेला समाधान गर्नको लागि चासो नदिएको जस्तो देखियो, उनले भने, अहिलेको अस्पतालको अवस्था कुनै बिरामी आधा घण्टा कुर्नु प¥यो भने कहाँ राख्ने भन्ने चिन्ता छ ।’

नेकपा एमालेका सचिव रुपेश खतिवडाले अस्पताल सुधार गर्दै छौँ भने पनि सामान्य नागरिकले सेवा पाउन निक्कै गाह्रो रहेको बताए । ‘अस्पतालले सरसफाइका मापदण्ड पुरा गरेको छैन, उनले भने, कोशी अस्पताल नचलेको फ्याक्ट्रीको गोदाम घर जस्तो देखिएको छ, सरसफाइको अवस्था हेर्दा दर्दनाक देखिन्छ ।’

घाम पानीबाट जोगिने र बस्ने खालको प्रतीक्षालय समेत नभएको यथार्थ सुनाए । प्रतीक्षालय भित्रै नागरिकको सहजताको लागि टोकन व्यवस्थापन गर्न सकियो भने धेरै समस्याको समाधान हुने उनले सुझाव दिए । अस्पतालमा डाक्टर भए पनि पूर्ण समय काम नगरेको समेत टिप्पणी गरे । डाक्टर कार्यालय समय पूर्ण नबस्दा सेवाग्राही भौँतारिनु पर्ने अवस्था रहेको उनले बताए । कोशी कोभिड अस्पताललाई सञ्चालन गरेर प्रयोगमा ल्याउन उनले सुझाव दिए ।

लोसपाका जिल्ला अध्यक्ष मोहम्मद कादिरले नागरिकले उपचार गर्न आउँदा फोन गरेर आउनु पर्ने बाध्यता रहेको बताए । उनले पहिलाको भन्दा अहिले अस्पतालको व्यवस्थापकीय रूपमा केही सुधार भएको बताए । कर्मचारीको व्यवहारमा परिवर्तन गरिनु पर्ने उनको सुझाव छ । राप्रपाका सचिव टंक गुरागाईँले अस्पताल कस्तो बनाउने भन्ने हात प्रशासनको जिम्मेवारी लिएका व्यक्तिको हुने बताए । उनले विशेषज्ञ डाक्टरकोमा जाँदा मुख थुनेर जानु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्