बेलबारी प्यावसनद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना प्रदान


बेलबारी, २० जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यावसन) बेलबारीले नवनिर्वाचित बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । शुक्रवार बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी नगर प्रमुख उपप्रमुख तथा वडा अध्यक्षहरूलाई बधाई तथा शुभकामना प्रदान गरेको हो ।

कार्यक्रममा नगर प्रमुख डी.पी राईले शैक्षिक क्षेत्रको विकासमा कुनै कन्जुसाई नगर्ने बताएका छन । निजी क्षेत्रको विद्यालयमा कक्षा १२ सम्मा अध्ययन गर्ने ४३ प्रतिशतको संख्यामा र बाकी सामुदायिक विद्यालयमा रहेको कारण दुवै क्षेत्रमा गुणस्तर शिक्षा अनिवार्य हुनु पर्ने राईले बताए । ४३ प्रतिशत विद्यार्थीको भविष्य निजी विद्यालयहरूमा भएकोले गम्भीर भएर थप शिक्षाको गुणस्तरमा विकास गर्न पनि राईले आग्रह गरे ।

सामुदायिक विद्यालयसँगै निजी विद्यालय क्षेत्रको विकासमा पनि नगरपालिका गम्भीर रहेको राईले बताए । उनले प्राविधिक शिक्षाको खाँचो भएकोले, बेलबारीमा निजी क्षेत्रले नै भए पनि सुरु गर्न आग्रह गरेका छन । ८ कक्षासम्ममा आफ्नो आफ्नो ठाउँमा विद्यालयहरूले अध्ययन अध्यापन गराएता पनि ९ देखी १२ कक्षा सम्म एकीकृत भएर कसरी गुणस्तर शिक्षा प्रदान गर्न सकिन्छ सामूहिक अभ्यास गर्न राईले आग्रह गरेका छन ।

कार्यक्रममा प्यावसन, १ नं. प्रदेशका अध्यक्ष टिकाराम ढकालले शिक्षालाई सरकारले प्रथम प्राथमिकतामा राखेर लगानी वृद्धि गर्नु पर्ने बताए । त्यसमा सामुदायिक विद्यालयलाई मात्र प्राथमिकतामा राख्ने तर निजी विद्यालयलाई उपेक्षा नगर्न आग्रह गरेका छन ।

कार्यक्रममा वडा अध्यक्षको प्रतिनिधित्व गर्दै वडा नं.३ का अध्यक्ष योगेन्द्र सुवेदी र वडा नं. ९ का शालिग्राम बस्नेतले बोलेका थिए । दुवै अध्यक्षले शिक्षा क्षेत्रको विकासमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्दै आयोजक समितिलाई बधाई तथा शुभकामनाको लागि धन्यवाद प्रदान गरेका छन ।

कार्यक्रम भगवती प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । सचिव विनोद भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्