प्याब्सन मोरङको जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न


बेलबारी, ५ असार । निजी तथा आवासीय विद्यालयहरूको सङ्गठन प्याब्सन मोरङको आयोजनामा जिल्लास्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता २०७९ सम्पन्न गरेको छ । शनिवार बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फन पार्कको सभाहलमा आयोजित कार्यक्रममा प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।

उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले बालबालिकामा घरको भन्दा पनि विद्यालयको प्रभाव रहेकाले बताउँदै बालबालिकालाई राम्रो बाटो हिँडाउन विद्यालयको ठुलो हात रहेको बताए । उनले किताबी ज्ञानको अतिरिक्त बालबालिकालाई व्यवहारिक ज्ञानको आवश्यकता रहेको बताए । उनले बालबालिकालाई जोसँग जे प्रतिभा छ त्यहीअनुसार अगाडि बढ्न प्रेरणा दिनु पर्ने बताए । उनले अङ्ग्रेजी भाषाका नाममा नेपालका मौलिक भाषा र संस्कृतिलाई भुल्नु नहुने बताए ।

बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राईले शब्दको उत्पत्ति हुनु पूर्व चित्रको भाषा बोलिने प्रशङ्ग उल्लेख गर्दै उनले चित्रकलाको महत्त्व रहेको बताए । नगरप्रमुख राईले विद्यमान शिक्षा प्रणाली व्यवहारिक नभएको बताउँदै अब सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षाको विकाशमा लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतम, राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका प्रमुख युवराज पौडेल, प्याब्सन प्रदेश नं १ का उपाध्यक्ष अर्जुन बस्नेत, अभिभावक सङ्घ मोरङका अध्यक्ष खगेन्द्र भट्टराई लगायतकाले स्वागत मन्तव्य राखेका थिए ।

सिनियर तर्फ क्लासिकल मिक्लाजुङका छात्र विवश श्रेष्ठ प्रथम, शुभकामना उर्लाबारीकी छात्रा पूर्णिमा रसाइली द्वितीय, रिलाइन्स मिक्लाजुङका छात्र सविन थापा तृतीय र मदरटेरेसा विराटनगरकी छात्रा संस्कृति नकर्मीले सान्त्वना स्थान हासिल गरेकी छन् । त्यस्तै जुनियरतर्फ अरुणोदय पथरीकी छात्रा समीक्षा तामाङ प्रथम, लर्डबुद्ध विराटनगरकी छात्रा अनिसा राई द्वितीय, भानुभक्त बेलबारीका अविरल कार्की तृतीय र कुडोस उर्लाबारीकी रिचेल राईले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

विजयी विद्यार्थीहरूले मेडल ट्रफि र नगद पुरस्कार प्रदान गरिएको थियो । मोरङका १७ वटै पालिकाबाट छनोट भएर आएका ७६ जनाले फाइनल प्रतियोगितामा सहभागिता जनाएका थिए । साथै सोही कार्यक्रममा चित्रकारहरूलाई पनि सम्मान गरिएको थियो । प्याब्सन जिल्ला अध्यक्ष शीतला लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव जगत बस्नेतको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्