सुन्दरहरैँचाको दसौँ नगरसभाको उद्घाटन : भ्रष्टाचारमुक्त बनाउने नगरप्रमुख गुरागाईको प्रतिबद्धता


सुन्दरहरैँचा , ७ असार । सुन्दरहरैँचा नगरपालिकाले विशेष कार्यक्रमका साथ आफ्नो दसौँ नगरसभा उद्घाटन गरेको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं ४ मा रहेको सिग्देल बन्धु प्रतिष्ठानको सभाहलमा दसौँ नगरसभाको उद्घाटन गरिएको हो ।

नगरप्रमुख केदारप्रसाद गुरागाईले दसौँ नगरसभामा नगरकार्यपालिकाले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख गुरागाईले भौतिक पूर्वाधारका साथै शिक्षा र स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए । नगरप्रमुख गुरागाईले स्थानीयपालिसँग थुप्रै चुनौती रहेको बताउँदै ती चुनौतीको सामना गर्नु पर्ने र त्यो साहस जनप्रतिनिधिको संस्थासँगै भएको बताए । देशमा रहेका तीन तहका सरकारले सहअस्तित्वका आधारमा अघि बढ्नु पर्ने कुरामा जोड दिँदै जनप्रतिनिधिहरूले आफूलाई शासक नभएर सेवक बन्नुपर्ने बताउँदै नगरलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धतासमेत जाएर गरे ।

नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारका साथै कृषि, खाद्य सुरक्षामा जोड दिइएको बताए । पूर्ण साक्षर नगरको रूपमा घोषणा गर्न विभिन्न कार्यक्रम गर्ने, स्थानीय पाठ्यक्रम लागू गरिने, सुकुना बहुमुखी क्याम्पसलाई अनुसन्धान केन्द्रको रूपमा विकास गरिने आदि नीति प्रस्तुत गरे । नगरप्रमुखद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा जेष्ठनागरिकलाई घरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, सुवर्ण फर्मास्टिकल कम्पनीबाट औषधि उत्पादन सुरु गर्ने, कला, भाषा र संस्कृतिको संरक्षण गरिने, श्रममा देखिएको लैङ्गिक विवेधको अन्त्य गरिने, घरेलु उद्योगमा जोड दिइने, नगर आवासको सञ्चालन गरिने आदि नीति अघि सारिएको छ ।

अघिल्ला वर्षमा भएका मेयरकप फुटबल प्रतियोगितालाई निमितता प्रदान गरे पनि नाम भने परिवर्तन गरिएको छ । नाम परिवर्तन गरेर मेयर कपका ठाउँमा नगर कपको नाममा प्रतियोगिता सञ्चालन गर्ने नीति अङ्गीकार गरेको छ । नगरपालिकाले स्थानीय सञ्चारमाध्यमलाई प्रवर्धन गर्ने नीति अङ्गीकार गरिएको नगरप्रमुख गुरागाईले बताए । अर्को बैठक असार ९ बजे ११ बस्ने भएको छ । नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई नगरसभासदहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्