केराबारी गाउँपालिकाको दसौँ अधिवेशन उद्घाटन : कृषि पर्यटनमा विशेष जोड


केराबारी, ९ असार । केराबारी गाउँपालिकाको एक कार्यक्रमकारबिच दसौँ गाउँसभा अधिवेशनको उद्घाटन भएको छ । केराबारी ८ मा रहेको हिमचुली सामुदायिक वनको सभाहलमा बिहीबार गाउँसभा अधिवेशनको उद्घाटन भएको हो ।

गाउँपालिका अध्यक्ष सुमन मिरिचिङ मगरद्वारा उद्घाटन गरिएको गाउँसभामा उपाध्यक्ष विमला मगरले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । उपाध्यक्ष मगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लोकतन्त्र प्राप्तिको पूर्ण प्रतिबद्धता, सुशासन, गाउँवासीहरू प्रतिको उत्तरदायी प्रशासनिक संरचना, भ्रष्टाचारमुक्त सभ्य र सुसंस्कृत एवम् कर्तव्यप्रति दुढ समाज यस सरकारको आदर्श रहने बताइन् । उनले समानता र न्यायको पक्षपोषण गर्दै सबै प्रकारका भेदभाव र अन्यायहरूको अन्त्य, सामाजिक न्यायको प्राप्ति र सबैका लागि समृद्धि गाउँपालिकाको मूल नीति हुने प्रष्ट पारिन् । “कृषि पर्यटनसहितका पूर्ण पूर्वाधार, समृद्धि केराबारी हाम्रो आधार” नारा लिएको गाउँपालिकाले सोही अनुसारका योजना छनोट गरेको छ ।

गाउँसभाले पूर्वाधार विकासका नीति, सामाजिक विकास सम्बन्धी नीति, लैङ्गिक समानता, सामाजिक सुरक्षा र समावेशीकरण सम्बन्धी नीति, आर्थिक विकास सम्बन्धित नीति, उद्यम प्रवर्धन, रोजगार सिर्जना र आन्तरिक आय अभिवृद्धि, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत क्षमता विकास, सेवा प्रवाह र सुशासन शीर्षकमा कार्यक्रम रहेका छन् । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटनमा विशेष जोड दिइएको छ । गाउँ पालिका प्रवक्ता नारायणप्रसाद भुजेलको स्वागत मन्तव्यबाट सुरु भएको पहिलो बैठकमा निर्वाचनमा सहयोग पुर्‍याउने सबैमा धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित भएको थियो । अर्को बैठक शुक्रवार बस्ने प्रमुख प्रशासकीय अधिकृत सुदर्शन रिजालले जानकारी दिएका छन् । आगामी बैठकमा बजेट प्रस्तुत हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्