बेलबारी बालकथा सङ्ग्रहको विमोचन


बेलबारी, ११ असार । बेलबारी साहित्य विकास समितिको प्रकाशनमा बेलबारी बालकथा सङ्ग्रहको विमोचन भएको छ । बेलबारी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उक्त कथासङ्ग्रहको विमोचन गरिएको हो ।

बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राई, साहित्यकार नरनाथ लुइँटेल लगायतले संयुक्त रूपमा कृत्तिको विमोचन गरेका थिए । उक्त अवसरमा लीला सुवेदी, चन्द्रमाया खड्का, उमा सिजापति, लगायत डेढ दर्जन स्रष्टाले रचना वाचनसमेत गरेका थिए ।

उक्त कार्यक्रममा स्रष्टा समाज बेलबारीका पूर्व अध्यक्ष एवम् सांसद हर्कमान तामाङ, स्रष्टा इरान राई, कलाकार जेवि थुलुङ, संविधान सभासदस्य एवम् संस्कृतिकर्मी मधु गुरुङ, कलाकार द्वय शिव छाङ्छा राई र गणेश लामा आँसु लगायतको सहभागिता रहेको थियो । विमोचित कृतिमाथि साहित्यकार नरनाथ लुइँटेल, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रेमप्रसाद भट्टराईको टिप्पणी रहेको थियो ।

विमोचित कृतिभित्र विभिन्न २२ जनाका कथाहरू समेटिएका छन् । बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव धनजीत पराजुलीकाे रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्