मन्त्री थापाले भने, ‘खोला दोहन रोक्न कडाइ गरिने छ’ : बेलबारीमा स्काभेटर निषेध


बेलबारी, १३ असार । खोला दोहन रोक्न कडाइ गर्ने प्रदेश नं. १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाले बताएका छन् । सोमबार भएको बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समितिको एक वृक्षारोपण कार्यक्रममा मन्त्री थापाले वृक्षारोपणसँगै कार्यक्रमलाई सम्बोधन गर्दै खोला दोहन हुन नदिने बताएका हुन ।

मन्त्री थापा भने, ‘चिसाङ खोलामा दोहन हुन्छ तर संरक्षण हुँदैन ।’ थापाले भने अनुसार गत वर्ष बाढीको कारण चिसाङ पुलनै जोखिममा परेको थियो । जस कारण पूर्व पश्चिम लोकमार्ग नै अवरोध भएको थियो । सयौँ सालका रुखहरू बगाएको थियो भने, चिसाङ छेउका बस्ती उच्च जोखिममा थियो । चिसाङ पुलको पश्चिम उत्तर तर्फ प्रदेश सरकारको सहयोगमा भएको तटबन्धले भने अहिले केही राहत मिलेको छ ।

ठेक्का लाग्ने र रातारात मापदण्ड विपरीत उत्खनन गर्ने तर संरक्षणमा ध्यान नदिने भएकोले क्षतिको सम्भावना उच्च बढेर गएको मन्त्री थापाले बताए । थापाले भने, ‘बेलबारी नगरपालिकाले गरेको निर्णय ठिक छ । संरक्षणको निम्ति खोला उत्खननमा स्काभेटर प्रयोग गर्न उचित छैन ।’


बेलबारी नगरपालिकाले खोलामा स्काभेटर चलाउन नदिने निर्णय गरेको छ । बेल्चाको मात्र प्रयोग गर्न पाउने निर्णय गरेको बेलबारी नगरपालिकाका प्रमुख डि.पी राईले सोही कार्यक्रममा जनकारी दिए । स्काभेटरको प्रयोगले मापदण्ड विपरीत उत्खननले गर्दा खाने पानीको सतह समेत सुक्दै गएको उनले बताए । बेलबारीमा पनि सोही समस्या देखा परेको जानकारी गराउँदै पानीको समस्याको समाधानको लागि कडाइका साथ दोहन रोक्न जरुरी रहेको राईले बताएका छन् । खोला तथा प्राकृतिक सम्पदा संरक्षणको लागि कडाइ गर्न प्रदेश सरकारलाई राईले आग्रह गरेका छन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्र.जि.अ काशीराज दाहाल, प्रदेश नं. १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयका सचिव सञ्जीव राई, डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्ध कुमार साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैले वृक्षारोपण गरेका थिए । कार्यक्रम बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष दिनेश गिरीको अध्यक्षता सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्