अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री


काठमाडौं, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार बिहानदेखि धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओली बिहीबार राति  ८ बजेर ५ मिनेटमा डिस्चार्ज भएको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

बुधबार अस्पताल भर्ना भएका उनको दुई पटक डायलासिस गरिएको थियो ।उपचारको क्रममा क्रममा प्रधानमन्त्री ओलीको हेमोडायलासिस भएको थियो। केही समयअघि मात्र अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै उनको डायलासिस भएको बताएको थियो।

ओली अस्पतालबाट सिधै सरकारी निवास बालुवाटार गएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

‘प्रधानमन्त्री केपी शर्मा ओली यस ग्रान्डी इन्टरनेशनल हस्पिटलमा नियमित स्वास्थ्य परीक्षण तथ उपचारका लागि भर्ना हुनुभएको आज दोस्रो दिन हो’, विज्ञप्तिमा भनिएको थियो, ‘हाल उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ। यस अस्पतालमा उनको स्वास्थ्य परीक्षण र उपचारको क्रममा हेमोडायलासिस गरिएको छ।’

विज्ञप्तिमा आजै डिस्चार्ज हुने जानकारीसमेत गराइएको थियो। विज्ञप्तिमा मेडिकल निर्देशक डा. चक्रराज पाण्डे र नेफ्रोलोजी तथा ट्रन्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष प्रा.डा. दिव्या सिंह शाहले हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री ओलीले  निवास फर्कने क्रममा उनले अस्पताल परिसरमा रहेको सञ्चारकर्मीमाझ आफू ठिक रहेको प्रतिक्रिया दिए । अस्पतालबाट फर्कदै गर्दा निकै प्रफुल्ल मुद्रामा देखिनुभएका प्रधानमन्त्री ओलीले भने, “म ठिक छु ।” निवासतर्फ जाने क्रममा प्रधानमन्त्री ओली एक्लै हिँडेर गाडीसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्