च्याउ खेतीबाट मनग्गे कमाइ गर्दै बेलबारी ९ का बोगटी परिवार


बेलबारी, २५ असार । बेलबारी ९ माझी गाउँका महेन्द्र बोगटीले च्याउ खेतीबाट मनग्गे आम्दानी लिँदै आएका छन् । केही पोकाबाट सुरु गरेको उनको व्यावसायिक फममा अहिले ५ हजार २ सय पोका च्याउ रहेका छन् ।

साबिकको डाँगीहाट गाविस वडा नं ९ माझी गाउँमा उनको कृषि फर्म रहेको छ । घरको केही दक्षिण पट्टीको आफ्नै जमिनमा उनले ‘मेहनती मसरुम कृषि फम’ सञ्चालन गर्दै आएका छन् । आफ्नो फर्मबाट दैनिक पाँच सय केजीजति च्याउ उत्पादन हुने गरेको किसान बोगटी बताउँछन् । उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको कृषक बोगटीको अनुभव रहेको छ । उनी भन्छन् – बजारको कुनै समस्या छैन । उत्पादन गर्न सके जति पनि विक्री हुन्छ ।” उनले उत्पादन गरेको च्याउ विराटनगर, धरान हुँदै पूर्वका विभिन्न स्थानमा जाने गर्छ । साथै उनको च्याउले स्थानीय बजारसमेत धान्दै आएको छ ।

स्थानीय व्यापारी मात्र नभएर टाढा टाढाका व्यापारीसमेत उनको फर्ममै आएर च्याउ लैजाने गर्छन् । हाल च्याउको बजार मूल्य २०० देखि २५० सम्म रहेको भए पनि उनी आफूले भने फर्मबाटै प्रतिकेजी १५० मा बेच्ने गरेको बताउँछन् । उनको फाममा चारवटा टहरा रहेका छन् । साथै उनले डल्ले च्याउ पनि लाउने तयारी गरेका छन् । जसका लागि भवनसमेत बनाइ सकेका छन् । हाल सम्ममा उनको ७०-८० लाखको लगानी भएको बताउँछन् । पाँच वर्षदेखि लगातार रूपमा च्याउ खेती गरिरहेको बोगटीले सुरुमा प्लास्टिकका टलेनबाट च्याउ खेती गरेता पनि हाल भने स्थायी टहराको निर्माण गरेर च्याउ खेती गरिरहेका छन् । एक लटमा यो खेतीबाट १५ लाख जति कमाइ हुने उनी बताउँछन् । छोरी ज्वाइँको प्रेरणाले यस क्षेत्रमा लागेको बताउने बोगटीले च्याउ खेतीको राम्रो बजार देखेको बताउँछन् । उनको छ जनाको परिवार रहेको छ । पुरै परिवार यही पेसामा आबद्ध रहँदै आएको छ ।

महेन्द्रका छोरा विवेक वैदेशिक रोजगारबाट फर्केर यही पेसामा लागेका छन् । उनी पराइ देशमा काम गर्नु भन्दा आफ्नै माटोमा काम गर्नु ठुलो फरक रहेको, अरूभन्दा पनि परिवारसँग बसेर काम गर्दा बेग्लै रमाइलो हुने उनको अनुभव रहेको छ । चुनौती भए पनि कमाइ राम्रो हुने हुने गरेकोमा भने उनी मक्ख पनि छन् । उनी १००० केजीसम्म उत्पादन गर्न सके विक्री हुने बताउँछन् । उनी च्याउ मात्र बेच्दैनन् यसको बिउसमेत उत्पादन गर्दै आएका छन् । यति मेहनती किसानले कहीँ कतैबाट अनुदान भने पाएका छैनन् । तर उनलाई राज्यबाट सुविधा पाए हुने थियो भन्ने लागेको छ ।

अनुदानका नाममा बर्सेनि राज्यको ढिकुटी रित्तिने गरेको छ । तर यसरी वितरित अनुदान वास्तविक किसानले भन्दा पनि सिफारिसका भरमा वितरण गर्ने परिपाटी हाबी छ । भनसुनका भरमा भन्दा पनि योगदानका आधारमा सेवा सुविधा दिने परिपार्टीको विकास हुन सकेमा मात्र कृषि पेसाले विकसित हुने अवसर पाउनेमा कुनै दुबिधा छैन

प्रतिक्रिया दिनुहोस्