बेलबारी डोजोद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान तथा शुभकामना आदानप्रदान


बेलबारी, २९ असार । बेलबारी सितेरियो कराँते डोजोले गुरु पूर्णिमाको अवसर पारेर नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान तथा खेलाडीमा शुभकामना आदानप्रदान कार्यक्रमको सम्पन्न गरेको छ । बेलबारी १ मा रहेको तमु बौद्धिष्ठ गुम्बाको सभा हलमा कार्यक्रमको आयोजना गरेर नगरप्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष तथा वडा सदस्यहरू लाईसमेत सम्मान गरेको हो ।

कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि नगरप्रमुख दिलप्रसाद राईले गुरु पूर्णिमाको धेरै महत्त्व रहेको बताउँदै गुरुले असल मार्गमा हिँड्न सहयोग पुर्‍याउने बताए । खेलले मानिसलाई अनुशासित भएर जीवन जिउन मद्दत पुर्‍याउने बताउँदै उनले सबैमा मित्रवत् भावनाको विकास गर्न खेलको मुख्य भूमिका रहने पनि बताए ।

बेलबारी सितेरियो कराँते डोजोका संस्थापक तथा प्रशिक्षक उध्वव सापकोटाले अपेक्षाकृत रूपमा खेलकुदको विकासमा नभएको गुनासो गर्दै कराँते खेलको विकासमा स्थानीय सरकारले विशेष ध्यान दिनु पर्ने बताए ।

कराँते प्रशिक्षक कुन्ति गुरुङले जनप्रतिनिधिहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन् । उनले जनप्रतिनिधिहरूलाई पाँच वर्षे सफल कार्यकालको शुभकामनासमेत पनि दिइन् ।

कार्यक्रममा बेलबारी नगरपालिका उपप्रमुख नितु थापा कोइराला, कराँते प्रशिक्षक विनोद कुमार रावत, बेलबारी नगरपालिका वडा नं १ अध्यक्ष मणि पुलामी मगरको सहभागिता रहेको थियो ।

साथै बेलबारी नगरपालिका वडा नं २,३,४ र ११ का अध्यक्षहरू क्रमशः कृष्ण बहादुर गुरुङ, योगेन्द्र सुवेदी, चन्द्र लिम्बू र विक्रम बान्तवा राई, तमु बौद्धिष्ठ गुम्बाका सचिव केशव घले लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कराँतेका चेलाले आफ्ना गुरुहरूलाई टीका तथा मिष्टान्न दिएर सम्मान गरेका थिए भने गुरुले पनि आफ्ना चेलालाई टिका लगाइदिँदै आशीर्वाद दिएका थिए । सहभागी खेलाडीहरूले गुरु पूर्णिमाको धेरै महत्त्व रहेको र यो महत्त्वलाई बचाइ राख्नु पर्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्