बेलबारीमा सामुदायिक वनभित्र किरा परेको अवस्थामा भेटियो महिलाको शव


बेलबारी, ४ श्रावण । मोरङको बेलबारीमा किरा परेको अवस्थामा मङ्गलवार दिउँसो एक जना महिलाको शव भेटिएको छ । बेलबारी नगरपालिका–१० स्थित भाउन्ने सिर्जना सामुदायिक वनभित्रको जङ्गलमा किरा परेको र सडेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका डिएसपी राजन कार्कीले पहिचान खुल्न नसकेको अन्दाजी ४५–४६ वर्षीय महिलाको शव फेला परेको जानकारी दिए ।

निलो–सेतो रङ्गको बुट्टे कुर्ता र रातो–कालो धर्का भएको सलवार लगाएकी महिलाको शव उत्तानो परेको अवस्थामा फेला परेको डिएसपी कार्कीले बताए । प्रारम्भिक अनुसन्धानबाट महिलाको शरीरमा चोट र नीलडाम नदेखिएको प्रहरीले जनाएको छ ।
शवनजिक नेल पोलिसको बट्टा र एउटा बोरा फेला परेको, बोराभित्र निगुरो र सालको पात पनि भेटिएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।
जङ्गलमा निगुरो टिप्न गएकाहरूले शव देखेपछि दिउँसो २ः३० बजेतिर प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।

शवको प्रकृति हेर्दा घटना केही दिनअघि भएको जस्तो देखिने प्रहरीको अनुमान रहेको छ ।
घटनास्थलबाट उठाएर प्रहरीले शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्