बेलबारीमा भू उपयोग नीति सम्बन्धी छलफल तथा अन्तरक्रिया


बेलबारी, ५ श्रावण । बेलबारी नगरपालिकाले भू उपयोग नीति तथा यसको ऐन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्य सुरु गरेको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू उपयोग सम्बन्धी नीतिमा आधारित रहेर नगरपालिकाले छलफल तथा अन्तरक्रिया गर्न सुरु गरेको हो ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख दिलप्रसाद राई, उपप्रमुख नीतु थापा, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, नगर कार्यपालिका सदस्य, कर्मचारी, नापी, मालपोत, वन तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

भू उपयोग ऐन २०७६ तथ्य भू उपयोग निवावली २०७९ यस अघि नै जारी भइसकेको छ । जसमा भूमिलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, जलप्रवाह गरी विभिन्न ९ भागमा वर्गीकरण गरिएको पाइन्छ ।

स्थानीय पालिकाले अब यही आधारमा भूमिलाई वर्गीकरण गरेर प्रदेश भू उपयोग परिषद्लाई पठाउनु पर्ने छ । प्रदेश भू उपयोग परिषद्ले सङ्घीय भू उपयोग परिषद्मा पठाउने छ र स्वीकृत भएर आए पछि स्थानीय भू उपयोग परिषद्ले राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा ल्याउन पाउने ऐनमा उल्लेख गरिएको छ ।

भू उपयोग नीतिलाई कार्यान्वयन गर्न त्यति सहज भने नभएको छलफलमा सहभागीहरू बताउँछन् । कतिपय स्थानीय पालिकामा त यो फलामको चिउरा चपाउनु सरह देखिएको छ । तर स्थानीय आवश्यकताका आधारमा जग्गाको वर्गीकरण गर्न सक्ने ऐनमा उल्लेख भएकोले यही आधारमा जगाको वर्गीकरण गर्नु पर्ने उनीहरूको विचार रहेको छ ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई ऐनमा टेकेर जग्गाको वर्गीकरण गर्नु त्यतिकै चुनौती भए पनि स्थानीय सरकार भएकाले सरोकारवाला निकायहरूसँग छलफल गरेर यसको टुङ्गो लगाउनु पर्ने र आफूहरू त्यही काममा लागेको बताउँछन् ।
सहभागी धेरैको मत भने जहाँ जेछ त्यही अनुसार जग्गाको वर्गीकरण गरिनु पर्ने राय व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्