तीन फरम्याटमा सिरिज खेल्ने नेपाली टोलीको घोषणा


काठमाडौं, १४ कात्तिक । विश्व क्रिकेटको ऐतिहासिक मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्धको सिरिजका लागि नेपालले राष्ट्रिय टिम घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो श्रेणी, टी–२० र एकदिवसीय गरी ३ वटा टिम घोषणा गरेको हो। शुक्रबार नेपाल आउन लागेको लन्डनको क्रिकेट क्लब एमसिसीले कात्तिक १८ गतेदेखि नेपालविरुद्ध ५० ओभर, टी–२० र तीनदिवसीय खेल खेल्दैछ। तीनै टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन्।

तीन वटै टिममा कप्तान ज्ञानेन्द्रसहित आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामी गरी ८ खेलाडीले स्थान पाएका छन्। पवन सर्राफले टी–२० र पहिलो श्रेणीको टिममा समावेश छन्। रोहितकुमार पौडेलले ५० ओभर र पहिलो श्रेणीमा स्थान बनाएका छन्।

यस्तै बसन्त रेग्मी र शरद भेषवाकरले ५० ओभर तथा पहिलो श्रेणीको टिमम रहेका छन्।

अमित श्रेष्ठ, अभिनास बोहोरा, नन्दन यादव, कुशल भुर्तेल, सुसन भारी र सन्दीप जोराले टी–२० टिममा मात्र स्थान बनाएका छन्।

पूर्वकप्तान पारस खड्का, विक्रम शोव र इशान पाण्डेलाई ५० ओभरको टिममा मात्र राखिएको छ। जिनेन्द्र मुखिया र राजु रिजाल पहिलो श्रेणीको टिममा मात्र छन्।

प्रतिक्रिया दिनुहोस्