विकास बुढाथोकीको ‘जङ्गलको दमकल’ सार्वजनिक


बेलबारी, ७ श्रावण । विकास बुढाथोकीको ‘जङ्गलको दमकल’ सार्वजनिक भएको छ । शनिवार बेलबारी नगरपालिका वडा नं. ३ स्थित सृजना घरमा स्रष्टा समाजद्वारा आयोजित लोकार्पण कार्यक्रममा सचित्र बालकथा जङ्गलको दमकलको सार्वजनिक गरिएको हो ।

बेलबारी नगरपालिकाका प्रमुख डि.पी राईको प्रमुख आतिथ्यमा लोकार्पण गरिएको हो । कार्यक्रममा नगर प्रमुख राईले बेलबारी साहित्य क्षेत्रको विकाससँगै थप एक लेखक साथै कृतीको सृजना भएको बताउँदै बुढाथोकीको कार्यको प्रशंसा गरेका छन् । उनले भने, ‘लेखन निकै जटिल कुरा हो, लेखेको सृजनाले उचाइ लिन अझै गारो हुन्छ । बेलबारीले साहित्य क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आफ्नो परिचय बनाएको छ । त्यो बाटोमा अर्को एक लेखक थपिनु हाम्रो गौरवको विषय हो ।’

नेपाली काँग्रेसका महासमिति सदस्य महेन्द्र सुवेदीले बालकथा जङ्गलको दमकल बालबालिकाको लागि लेखिएको हुनाले, बालबालिकाको उनीहरूको हातसम्मा अनिवार्य पुग्नु पर्ने बताए । विद्यालयहरूले जङ्गलको दमकल राखे सहजै बालबालिकाले अध्ययन गर्न पाउने सुवेदीले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले बेलबरी नगरपालिकाका अध्यक्ष तथा साहित्यकार ईरान राईले पुस्तक जङ्गलको दमकल नाम नै आकर्षक रहेको बताएका छन् । कथाको समापनमा केही अन्योल देखिए पनि अन्य सबै पक्ष राम्रो रहेको उनले बताए । पुस्तकको गुणस्तर कागज, उत्कृष्ट चित्रकला तथा लेखन साथै चित्रमा प्रयोग गरिएको रङ्ग आँखा मैत्री रहेको राईले बताएका छन् ।

कार्यक्रम स्रष्टा समाजका अध्यक्ष जे.बि थुलुङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन गणेश लामाले गरेका थिए । सचित्र बालकथा जङ्गलको दमकलको प्रकाशन परिचय पब्लिकेसन काठमाडौँले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्