बेलबारी नगर अस्पतालको विस्तारित सेवाद्वारा स्थानीयलाई राहत : भिडियो एक्स-रे सुरु

आँखा परीक्षण चाडै थप हुने


बेलबारी, १४ श्रावण । मोहन कार्की भन्छन्, ‘बुवालाई निजी अस्पतालमा भन्दा बेलबारी नगर अस्पतालको उपचारले निको बनाएको छ । उपचार सेवा राम्रो छ ।’ बेलबारी ४ निवासी मोहन र उनको परिवार नगर अस्पतालको विस्तारित सेवाद्वारा सन्तुष्ट छन् ।

मोहन जस्तै अरू पनि अहिले नगर अस्पतालको सेवाद्वारा सन्तुष्ट रहेको बताउँछन् । नगर अस्पतालमा १२ घण्टे ओपीडी सेवा सञ्चालनमा छ । अस्पतालका मेडिकल सुपरिटेण्ड डा.उमेश शाहका अनुसार गर्भवती जाँच, ल्याब सेवा, भिडियो एक्स-रे, लगायतका सेवा सञ्चालनमा रहेको छ । अहिले दिनमा एक सय जना भन्दा बढी ओपीडी सेवा लिन आउने गरेको डा.शाह बताउँछन् ।

बुधवार पहिलो पटक भिडियो एक्स-रे भएको थियो । नियमित आमाको उपचारमा आइरहने स्थानीय अमोल प्रसाईँले पहिलो पटक नगर अस्पतालमा नै भिडियो एक्स-रे गर्न पाउँदा खुशी व्यक्त गरे । उपचार शुल्कदेखि, उपचार सेवा सुविधा सबै राम्रो रहेको उनी बताउँछन् । अझै क्रमिक रूपमा अस्पतालको सेवाहरूमा वृद्धि हुँदै जाने विश्वास अमोलले प्रकट गरे ।

नगर अस्पताल विकासको लागि संरचना निर्माण भएसँगै सेवा पनि विस्तार भएको छ । अहिले बिहान ७ बजे देखी बेलुकी ७ बजे सम्म बिरामीहरूलाई सेवा उपलब्ध हुने व्यवस्था गरिएको नगर प्रमुख डि.पि राई बताउँछन् । स्वास्थ्य बिमाको रेफर गर्ने काम पनि नगर अस्पताल देखी नै सञ्चालनमा रहेको राईले जनाएका छन् । राई भन्छन्, ‘पहिले बेलबारीका जनताले रेफर लिनु पूर्वाञ्चल विश्वविद्यालय अस्पताल सुन्दरहरैचा, गोटगाउँ पुग्नु पर्थ्यो । तर अहिले त्यो झन्झटबाट मुक्त भएको छ ।’

चाडै अन्य सेवा-सुविधाहरू थप गर्ने राईले बताए । ल्याब सेवा, भिडियो एक्स-रे लगायतका सेवा निजी तथा अन्य क्षेत्रमा भन्दा सुविधाजनक र सस्तो शुल्कमा उपलब्ध गराउने जमर्को गरेको, राईले भने । साथै आँखाको परीक्षणको थप सेवा विस्तार गर्ने योजना रहेको उनले जनाएका छन् । राईका अनुसार अस्पतालमा सेवा विस्तारसँगै जनशक्ति पनि थप गर्ने र विशेषज्ञ सेवा समेत अगाडी बढाउने योजना रहेको छ ।

अहिले राम्रो र न्यूनतम मूल्यमा उपचार गर्न पाउँदा नगर अस्पतालप्रति स्थानीयको विश्वास बढ्न थालेको छ । सामान्य उपचार पनि निजी क्लिनिक तथा अस्पतालमा चर्को मूल्य तिरेर मात्र गर्नु पर्ने परिस्थितिबाट बेलबारीवासीलाई केही भए पनि राहत मिलेको छ । तर नगर अस्पतालमा सबै प्रकारको आवश्यक औषधीको भने केही अभाव छ । आवश्यक सबै औषधी र २४ घण्टे सेवा उपलब्ध भए झनै उत्कृष्ट हुने थियो ।

प्रतिक्रिया दिनुहोस्