विगतको मापदण्ड विपरीत उत्खननले अहिले सास्ती : ठेकेदारलाई मुनाफा स्थानीयलाई क्षति


बेलबारी, १६ श्रावण । एक पटक भएको मापदण्ड विपरीत उत्खननले बारम्बार पिरोली रहेको छ । विगतमा बेलबारीको लोहोन्द्रा खोलामा मापदण्ड विपरीत उत्खनन हुँदा अहिले स्थानीयले सास्ती पाई रहेका छन् ।

केही दिनदेखीको निरन्तर वर्षाको कारण बेलबारी ५ मा सुन्दरहरैचासँग जोडिएको लोहोन्द्र खोलामा विगतमा मापदण्ड विपरीत उत्खनन हुँदा अहिले आवतजावतमा अवरोध हुनको साथै जमिन कटान भइरहेको छ । खोला अहिले करिब २० फुट भन्दा गहिरो छ । सोही कारण जमिनको भित्री भागबाट नै कटान भइरहेको छ ।

स्थानीयका अनुसार ठेक्कालागे पछि मापदण्ड विपरीत उत्खनन हुँदा खोलाको गहिराई बढेको हो । गत आर्थिक वर्ष मनन कन्स्ट्रक्सन सुन्दरहरैचाले खोला ठेक्का पारेको थियो । बेलबारी क्षेत्राधिकार भित्र उत्खनन गर्न नपाउने भए पनि उत्खनन गरेको थियो । स्थानीयको जनगुनासो भएता पनि जिल्ला प्रशासन कार्यालय मोरङद्वारा स्थलगत रीर्पोटिङ लिने कार्य मात्र भयो । सुन्दरहरैचा नगरपालिकाको मौनताले ठेकेदारले झन् बाल पायो । कारबाही वा उत्खननमा रोक, केही भएन ।

उक्त कन्स्ट्रक्सनद्वारा गरिएको मापदण्ड विपरीत उत्खननको क्षति बेलबारी ४ ले पनि बेहोरी रहेको छ । खोलाको गहिराइको कारण बेलबारी ४ र ५ को सिमानामा रहेको लोहोन्द्र बेतना–सिचाई पैनीमा पानी बग्न अवरोध उत्पन्न हुनको साथै त्यस क्षेत्रको जमिन कटान भएको थियो । बेलबारी नगरपालिकाका प्रमुख डि.पी राईको अनुगमन पश्चात् परम्परागत बासको प्रयोगमा तटबन्धन गर्नुको साथै सिचाई पानीको निकास गरिएको छ ।

बेलबारी वडा नं.१ र ३ मा पनि उस्तै अवस्था रहेको छ । गत आर्थिक वर्ष भएको भएको मापदण्ड विपरीत उत्खननले जमिन कटान भइरहेको बेलबारी नगरपालिकाले जनाएको छ । ठेक्का जय भैरवी कन्स्ट्रक्सन बेलबारीले पारेको थियो । उक्त क्षेत्रमा क्षति न्यूनीकरणको कार्य साथै तटबन्धन गर्ने तयारी गरी रहेको नगर प्रमुख राईले बताएका छन् ।

विगतमा भएको गल्ती फेरी दोहोरिनुबाट स्थानीय सरकार सचेत हुन अनिवार्य छ । ठेकेदारले मुनाफाको लागि स्थानीयलाई प्रदान गर्ने क्षतिबाट संरक्षण गर्नै पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्