प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मङ्सिर ४ गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ, १९ श्रावण । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मङ्सिर ४ हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ गते गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनकारी दिएका हुन ।

निर्वाचनमा प्रतिनिधिसभाका सदस्य र प्रदेश सभाका सदस्य दुईवटा निर्वाचन प्रणालीबाट चयन हुनेछ । १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट प्रतिनिधिसभाका लागि २७५ सदस्य निर्वाचित हुनेछन् । सात वटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० जना र समानुपातिकतर्फ २२० जना गरी जम्मा ५५० सदस्य निर्वाचित हुनेछन् ।

हरेक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने एक जना उम्मेदवार प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने समानुपातिक प्रणालीमा दलहरूले पाएको मतका आधारमा निर्वाचित हुने सांसदहरूको सङ्ख्या बाँडफाँट गरिन्छ ।

दलहरूले पाएको सिट सङ्ख्याका आधारमा निर्वाचन आयोगमा चुनाव अघि बुझाएको बन्द सूचीका आधारमा समानुपातिक सांसद निर्वाचित हुने व्यवस्था छ । तर समानुपातिकतर्फ सिट ल्याउन प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत मत पाउनुपर्ने नियम छ ।

चुनावमा उम्मेदवार हुन पाउने २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ भने निर्वाचनमा मतदान गर्नलाई मतदाता नामावलीमा नाम दर्ता गराएका १८ वर्ष उमेर पूरा भएका हरेक नागरिकले पाउँछन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्