कोशी ब्यारेजमा खतराको सङ्केत : बलो रातो बत्ती, ३३ वटा ढोका खोलियो


सुनसरी, २१ श्रावण । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएकोसँग कोशी ब्यारेजमा खतरा बढेको छ । कोशी ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ । पूर्वी पहाडी जिल्लाहरूमा लगातारको वर्षातका कारण शनिवार दिउँसोदेखि पानीको बहाव बढेपछि कोशी ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको हो ।

सप्तकोशीमा शनिवार ४ः५० बजे पानीको बहाव प्रतिसेकेन्ड २ लाख २५ हजार ३५० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्य ३३ ढोका खोलिएको पनि उनले बताए । सप्तकोशीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

भारतको नियन्त्रणमा रहेको कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र वराहक्षेत्र नगरपालिकाको खेती योग्य जमिन र मानव बस्ती डुबानमा परेको छ । सप्तकोशीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका बासिन्दालाई उच्च सतर्कता (हाइ अलर्ट) अपनाउन आग्रह गरेको छ ।

सप्तकोशीले पश्चिम तर्फ कटान गर्दा सुनसरी र उदयपुरको श्रीलङ्का टापु डुबानमा परेको छ । यस क्षेत्र अझै डुबानमा पर्ने भएकाले ब्यारेजका सबै ढोका खोल्न स्थानीयले माग गरेका छन् । अहिले ब्यारेजका ५६ मध्ये ३३ वटा ढोका खोलिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्