एमाले मोरङ निर्वाचनमा केन्द्रित हुँदै : २३ गते महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने


विराटनगर, २१ श्रावण । सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा भएसँगै नेकपा एमाले मोरङ निर्वाचनमा केन्द्रित भएको छ । साउन भित्रमा पार्टीका सम्पूर्ण कमिटी तथा जनसंगठनलाई गतिशील बनाउने निर्णयका साथ अघि बढेको एमाले मोरङले भदौं भर राजनैतिक तथा वैचारिक प्रशिक्षण दिने भएको छ ।

नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आसन्न प्रदेश तथा संघको निर्वाचनमा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा एमालेलाई विजयी बनाउने अभियानका साथ लाग्ने बताए । यसका लागि पार्टीका सबै ‘वीङ्स’लाई सक्रिय बनाई, प्रशिक्षण दिएर सामाजिक अभियानमा खटाइने पोखरेलले बताए । यही सन्दर्भमा जिल्ला स्तरीय प्रशिक्षण साउन २३ गतेलाई तय गरिएको पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार जिल्लाका सबै वडा कमिटीका पदाधिकारीदेखि माथिका नेता कार्यकर्ताको उपस्थिति रहने प्रशिक्षणलाई पार्टीका महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने भएको छ । मोरङको सुन्दरहरैचा स्थित विराटचोकमा हुने प्रशिक्षण कार्यक्रम स्थानीय जेसिस भवनमा सञ्चालन हुने एमाले मोरङ प्रचार तथा प्रकाशन विभाग प्रमुख सन्तोष वान्तवाले बताए ।

प्रतिक्रिया दिनुहोस्