कानेपोखरीको कानको वास्तविकता : ४१ लाख हैन, ५ लाखको


कानेपोखरी, २४ श्रावण । सामाजिक सञ्जालमा चर्चा पाएको ४१ लाखको कानको वास्तविकता कानेपोखरी गाउँपालिकाले विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । रु.४१ लाखमा बनेको भनिएको कानको प्रतिमा ५ लाखको मात्र भएको गाउँपालिकाले जनाएको छ ।

सामाजिक सञ्चालनमा भ्रष्टाचार भएको भनी प्रतिमाको निर्माण कार्यको आलोचना भएको थियो । तर वडा ७ मा अवस्थित उक्त ऐतिहासिक कानेपोखरी स्थलमा ४१ लाख ८० हजार रुपैयाँ बराबरको कानको प्रतिमासहित पोखरी प्रवेशद्वार, शौचालय, ३ वटा प्रतीक्षालय, ट्र्याक ओपन, हरिणको प्रति निर्माण तथा होमपाइप जडान र बाटो मर्मसम्भार गरिएको गाउँपालिकाले जनाएको छ ।

कपोकल्पित, भ्रामक र तथ्यहीन सामाजिक सञ्जालमा सार्वजनिक हुने समाचारको पछि नलागी वास्तविक विषयहरू जोकोहीले गाउँपालिकामा सोझै बुझ्न सक्ने विज्ञप्ति मार्फत आग्रह गरिएको छ । धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको कानेपोखरी स्थलको संरक्षण तथा विकासमा गम्भीर रहेको बताउँदै, कोही पनि भ्रममा नरही वास्तविकताको खोज गर्न स्थानीयलाई गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामले आग्रह गरेकी छन् ।

कानेपोखरीको संरक्षणको लागि नेपाल सरकारको सशर्त अनुदानमा रु.५० लाख रकम आर्थिक वर्ष २०७७/०७८ मा विनियोजन भएको थियो । संरचना निर्माण एवम् व्यवस्थापन गर्नको लागि रु.५२ लाख ७४ हजारको लागत अनुमानित गरिएको थियो । निर्माण कार्यको लागि २०७८ जेठ ७ गते सम्झौता भएको गाउँपालिकाले जनकारी दिएको छ ।

२०७८ असार २५ गते फरफारक भएको उक्त आयोजनाको प्राविधिक नापजाँच गर्दा रु.४१,८०,१५० बराबरको कार्य सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ । जसमा रु.३६,१३,०३८ रकम भुक्तानी भई बाँकी रकम रु.५,६४,११२ जनसहभागिता परिचालन मार्फत उपभोक्ता समितिबाटै व्योहोरिएको हो । विज्ञप्तिमा गाउँपालिकाको अध्यक्ष इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, लेखा अधिकृत अजित भट्टराईको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्