कानेपोखरी गाउँपालिकाले ‘प्लस टु’ निःशुल्क अध्ययन गराउने


कानेपोखरी, २६ श्रावण । कानेपोखरी गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा ‘प्लस टु’ निःशुल्क अध्ययन गर्न पाउने भएका छन् । गाउँपालिले कक्षा ११ र १२ को विद्यार्थीको भर्ना र मासिक शुल्क तिरिदिने भएको छ ।

केराबारीका कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यले यस कार्यक्रम सुरु गरेको अध्यक्ष राजमती इङ्नामले बताइन् । इङ्नामका अनुसार गाउँपालिकाले यस कार्यक्रमको लागि ३६ लाख रुपैयाँ विनियोजन गरेको छ । यस कार्यक्रमबाट कानेपोखरीमा रहेको ४ सामुदायिक विद्यालयबाट करिब ४०० भन्दा बढी विद्यार्थी लाभान्वित हुने अनुमान गरिएको छ ।

इङ्नामले भनिन, आर्थिक वर्ष २०७९÷०८० देखि कक्षा ११ र १२ का प्रत्येक विद्यार्थीको भर्ना शुल्क १ हजार र मासिक शुल्क ४ सयको दरले गाउँपालिकाले बेहोर्ने गरी गाउँपालिकाले ऐन निर्माण गरेको छ । ४ विद्यालयमा नयाँ भर्ना कति भएका छन् त्यसको पूर्ण तथ्याङ्क भने आउन बाकी छ ।

एसईईपछि गाउँपालिका क्षेत्रभित्रका ७ जना विद्यार्थीलाई ३ वर्षे प्राविधिक निःशुल्क शिक्षा प्रदान गर्ने कार्यक्रम पनि रहेको इङ्नामले जनाइन । प्राविधिक शिक्षासँगै रोजगारको पनि व्यवस्था गर्ने उनले बताइन । इङ्नामले भनिन, पढाई सके पछि भने सशुल्क गाउँपालिकामा एक वर्ष काम गर्न पाउने छन् । तर अध्यापन अधुरो गरे गाउँपालिकाले गरेको खर्च फिर्ता गर्नु पर्ने हुन्छ ।’ यस कार्यक्रममा गाउँपालिकाले विद्यार्थीको परीक्षा लिने र उत्तीर्ण भए मात्र छात्रवृत्ति प्रदान गर्ने इङ्नामले बताइन ।

कक्षा १२ सम्मको शिक्षा स्थानीय सरकारको दायित्व भएकोले यो वर्षदेखि लागू हुने गरी ‘गाउँपालिकाको छात्रवृत्तिसम्बन्धी ऐन २०७९’ निर्माण गरी लागू गरेको पालिकाका उपाध्यक्ष भोला अधिकारीले बताए । सोही ‘गाउँपालिकाको छात्रवृत्तिसम्बन्धी ऐन २०७९’ मार्फत यो कार्यक्रम अघि सारिएको हो । अहिले गाउँपालिकाको जनसेवा मावि र शिक्षा विकास माविमा कक्षा ११ र १२ सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्