अनधिकृत रूपमा अनलाइन गेमिङ खेलाउने गिरोह पक्राउ : डेढ महिनामा ८० लाख भन्दा बढी कारोबारको खुलासा


झापा, ०७ भदौ । नेपालमा प्रतिबन्धित अनलाइन खेल सञ्चालन गर्ने र सरकारी कागजात किर्ते गरी दुरुपयोग गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित वानएक्सबिट एप्लिकेसन (1XBet application) द्वारा लाखौँको कारोबार गर्ने गरी खेल खेलाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं.८ मा अवस्थित पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक २५ वर्षीय सत प्रकाश साह र दमक ७ का २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेसन एन्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउँपालिका वडा नं. २ का ३० वर्षीय अरुण कार्की र दमक ८ मा अवस्थित ब्रिटिस आर्मी टे«निङ सेन्टर दमकका सञ्चालक ३३ वर्षीय राजु लिम्बु रहेका छन् । गोप्य सूचनाको आधारमा १ नं.प्रदेश प्रहरी कार्यालय विराटनगरको आर.आइ.टी समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई भदौ ३ गते दमकबाट पक्राउ गरी सोमवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार दमक नगरपालिका तथा आसपासका क्षेत्रमा उक्त खेल खेलाउन अनधिकृत रूपमा अन्य व्यक्तिहरूको नागरिकताबाट एनसेलको सिम झिकेर सोही सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवश्यक पर्ने ई सेवा खाता खोली लाखौँको कारोबार गर्ने तथा कन्सल्टेन्सीमा आउने विद्यार्थीहरूको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरूको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र क्भ्भ् को प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । डेढ महिना भित्र करिब ८० लाख भन्दा बढी कारोबार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूबाट प्रयोग भएका एनसेलका २८९ थान सिम र प्रयोग नभएका ४५ थान, १९ थान मोबाइल, ल्यापटप ४ थान, प्रजापति सापकोटा वडा अध्यक्ष दमक २ लेखिएको स्ट्याम्प १ थान , प्रधानाध्यापक लेखिएको स्ट्याम्प १ थान, डिक बहादुर गुरुङ लेखिएको स्ट्याम्प १ थान, माडी नगरपालिका वडा नं.३ वडा कार्यालय, संखुवासभा लेखिएको स्ट्याम्प १ थान, नेपाल सरकार शिक्षा मन्त्रालय लेखिएको स्ट्याम्प १ थान, नेपालको निशान छाप भएको स्ट्याम्प १ थान, नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड लेखिएको स्ट्याम्प १ थान , ग्लोबल एजुकेशनल एकेडेमी लेखिएको स्ट्याम्प १ थान र नेपाली सेना अभिलेख कार्यालय, २०४३ लेखिएको स्ट्याम्प १ थान बरामद गरेको छ ।

पक्राउ परेको समूहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिलीप गिरीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्