दलीय आबद्धता त्याग्न शिक्षक तथा कर्मचारीलाई मेयर बालेनको निर्देशन


काठमाडौं, ८ भदौ । काठमाडौं महानगरपालिकाले शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले बुधवार सूचना जारी गर्दै सो निर्देशन गरेका हुन ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको विषय सूचनामा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा सङ्गठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले पनि गरेको मेयर बालेनले जानकारी गराएका छन् ।

उक्त कानुनी व्यवस्था तथा सम्मानित उच्च अदालत पाटनको आदेशको परिपालना गर्नु गराउनु काठमाडौं महानगरपालिकाको साथसाथै प्रत्येक राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्था तथा महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दायित्व रहेको उनले बताए । बालेनले काठमाडौं महानगरपालिकाको कार्यक्षेत्र भित्र सुशासन प्रवर्द्धन गर्नको लागि महानगर अन्तर्गतका शिक्षक तथा कर्मचारीहरू कुनै पनि राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्य हुनु कानुन विपरीत रहेको बताएका छन् ।

मेयर बालेनले काठमाडौं महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्थाहरूलाई अपिल गरेका छन् । उनले कुन दलमा आबद्धता थाहा पाए जानकारी गराउन आग्रह गर्दै इमेल दबभिलद्धmबथयच२नmबष्।िअयm सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्