लालीगुराँसको जेष्ठ नागरिक सम्मान कार्यक्रम


बेलबारी, १० भाद्र । बेलबारीकै पुरानो संस्था लालीगुराँस सहकारीले कुँशेऔँसीको अवसर पारेर बुबा सम्मान नाम दिएर जेष्ठ नागरिकलाई सम्मान गरेको छ । बेलबारी –३ मा मुख्य कार्यालय रहेको संस्थाको आफ्नै सभाहलमा आयोजित कार्यक्रममा जेष्ठ नागरिकहरूलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दिलप्रसाद राई, संस्थाका अध्यक्ष दुर्गाप्रसाद गौतमले संयुक्त रुपमा जेष्ठ नागरिकहरूलाई सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले सहकारीले बचतको बानीको विकास गराउँदै चाहिएको बेलामा त्यही बचतबाट ठूलो गर्जो टार्न सहयोग पुगेको बताउँदै जेष्ठ नागरिकलाई सम्मान गर्नु राम्रो काम रहेको बताए । तनावले दुःख मात्र दिने, रोग बढाउने बताउँदै नगरप्रमुख राईले जेष्ट नागरिकलाई तनावरहित जीवन जिउन पनि आग्रह गरे । नगरप्रमुख राईले सम्मानित बुबाहरूको स्वास्थ्यलाभको कामनासमेत गरे । संस्थाका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदीले जेष्ठ नागरिकबाट आशीर्वाद लिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताए । बुबा आमाको आसिर्वाद पाइरहने आसा पनि व्यक्त गरे ।

कार्यक्रममा १६ जना सहस्यका बुबा तथा ससुराबुबालाई सम्मान गरिएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए । अध्यक्ष गौतमले विगत लामो समयदेखि संस्थाले ७० वर्षमाथिका सदस्यका आमा बुबाहरूलाई सम्मान गर्दै आएको बताए । सम्मानित भएकोमा सम्मानितहरूले खुसी व्यक्त गरेका थिए । उनीहरूले संस्थाको सफलताको कामनासमेत गरे ।

कार्यक्रममा बेलबारी उद्योग वाणिज्य सङ्घका कार्वाहक अध्यक्ष राजेशजङ्ग कार्की, संस्थाका सल्लाहकार तथा पधाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।

८ हजारबाट सुरु संस्थाको हाल ३७ करोडको पूजी रहेको छ । ३२ सयको हाराहारीमा सदस्य रहेका पनि सहकारीले जनाएको छ ।
संस्थाकी उपाध्यक्ष कन्चन बुढाथोकी शुभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन भने संस्थाका सचिव नारायणप्रसाद आचार्यको रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्