दीपज्योतिको तीज विशेष कार्यक्रम


बेलबारी, १० भाद्र । लामो समयदेखि महिला हकहितमा काम गरिरहेको संस्था दीपज्योति नारी विकास बचत तथा सहकारीले सामूहिक दर खुवाउने काम गरेको छ । बेलबारी –४ मा रहेको बेतना सिमसार पर्यटकीय क्षेत्रको परिसरमा कार्यक्रमको आयोजना गरेर समूहका सबै सदस्यलाई दर खुवाउने काम गरेको हो ।

तीजका नाममा विकृति बढिरहेकोले तीजको मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको संस्थाकी अध्यक्ष पार्वती बरालले बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले नेपाली महिला विशेष मौलिक चाडका रूपमा विकास भइरहेको बताउँदै यसलाई साँघुरो अर्थमा लिन नहुने बताए ।

चाँडबाडका नाममा हुने गरेको विकृतिले यसको महत्वलाई धरापमा पार्न लागेकोमा सबैले सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा बेलबारी नगरपालिका उपप्रमुख नीतु थापा, श्रमिक महिला समूहका अध्यक्ष इन्दु पौडेल थापा, नारीविकास संस्थाकी अध्यक्ष शर्मिला लुङ्गेली मगर, बेलबारी नगरपालिका वडा नं १ का अध्यक्ष मणि पुलामी मगर, वडा नं ७ की अध्यक्ष सुनिता चौधरी, बेतना सिमसारका अध्यक्ष डम्बर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

संस्थाबाट जनप्रतिनिधिको रुपमा निर्वाचित हुने महिला सदस्यहरू बेलबरीका भीमकुमारी गुरुङ, यशोदा मङ्ग्रान्ती, सन्चुमाया लिम्बू र केराबारीकी हीमादेवी सुवेदी लिम्बूलाई संस्थाले सम्मान गरेको छ ।

संस्थाले बचतका अलावा स्वरोजगारको कार्यक्रम संचालन गर्दै आएको छ । २०४९ बाट सुरु भई २०५८ मा विधिवत रुपमा गठन भएको यस संस्थामा २५६४ सदस्य रहेको संस्थाका व्यवस्थापक गोमा खुलालले जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्