तीजको मौलिकतालाई बचाउनु पर्नेमा जोड


बेलबारी, १० भाद्र । पछिल्लो समय तीज पर्व बढी भड्किलो भइरहेको, यस्तो भड्किलोपनले तीजको मौलिकतामाथि आक्रमण भइरहेको बताउँदै तीजको मौलिकतालाई बचाई राख्नुपर्नेमा बेलबारीमा आयोजिक एक कार्यक्रममा जोड दिइएको छ । उज्यालो महिला फेडरेशन बेलबारीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो विचार व्यक्त गरेका हुन् ।

सहप्राध्यापक भिष्मा रेग्मी भट्टराईले तीज पर्वको वर्तमान सान्दरभिकता विषयको कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनको कार्यपत्रमाथि लीला सुवेदी, ईरान राई, पत्रकार रामप्रसाद खरेलले टिप्पणि गरेका थिए ।

उक्त कार्यक्रममा संविधानसभा सदस्य मधु गुरुङ, महिला प्रतिभा मन्चकी सीता सुवेदी, स्थानीय राजनीतिकर्मी पर्शुराम सुवेदी, आदिवासी जनजाती नगर समन्वय समिति बेलबारीका अध्यक्ष तिलकप्रसाद राई लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांक्ष पक्ताले समाजको अवस्थाको स्वरुप परिवर्तन भइरहेको बताउँदै शिव पार्वतीको प्रेम सम्बन्धको पृष्ठभूमिबाट सुरु भएको यसचाडलाई प्रेमको प्रतिकको रुपमा लिनु पर्ने बताएका थिए ।

कतिपयले भने तीजलाई तीजसँग मात्र नहेरेर अन्यपर्वहरूसँगको अन्तरसम्बन्धसँग जोडेर हेरिनुपर्ने बताएका थिए । हाम्रो जीवन शैली र परम्पराको निरन्तरता कस्तो छ भन्ने कुराको हेक्का राख्नु पर्ने बताउँदै चाडपर्वका नाममा सामाजिक न्याको विपक्षमा जानू नहुने विचार व्यक्त गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथि बेलबारी नगरपालिकाका उपप्रमुख नीतु थापा कोइरालाले तीजका नाममा हुने अनाबश्यक तकड भडक उचित नभएको बताउँदै यस चाडले महिलाहरूको सम्बन्धमा सुमधुरता ल्याउने र ल्याइरहने बताइन् । उनले हरितालिका तीजको अवसरमा सबैलाई शुभकामनासमेत दिइन् ।

तीज पछिल्लो समय केही भड्किलो भइरहेको, यसमाथि विभिन्न प्रश्न उब्जिरहेको परिप्रेक्षमा यसको वर्तमान सान्दर्भिकतामाथि छलफल भएको लेखिकासमेत रहेकी कार्यक्रमकी सभाति तिला लेकालीले बताइन ।
कार्यक्रममा सहभागी सबैलाई तीजको दरसमेत खुवाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्