पूर्वाञ्चल विश्वविद्यालयमा गंगालाल अस्पतालको शाखा विस्तारको सम्भावित अध्ययन तथा अवलोकन


सुन्दरहरैँचा, १५ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिकामा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र शाखा विस्तारको लागि अवलोकन तथा सम्भावित अध्ययन भएको छ । मंगलबार सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले प्रादेशिक शाखा विस्तारको लागि अवलोकन तथा सम्भावित अध्ययन गरेको हो ।

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका सञ्चालक समितिका सदस्य विजय राई र स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र सञ्चालक समितिका अध्यक्ष भवानी प्रसाद खापुङका स्वकीय सचिव मनोज लिम्बुले प्रारम्भिक अध्ययन तथा अवलोकन गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवराज कोइराला, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदार गुरागाईँ साथै स्थानीयसहित पूर्वाञ्चल विश्वविद्यालयको परिसरमा रहेको एक भवनको अवलोकन गरिएको हो।

उपकुलपति कोइरालाले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्रादेशिक शाखा विस्तारको लागि पूर्वाञ्चल विश्वविद्यालय उपयुक्त रहने सुझाउँदै अन्योलमा नपर्न समेत आग्रह गरेका छन् । शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासको लागि पूर्वाञ्चल विश्वविद्यालयको सधैँ सहयोग रहने कोइरालाले प्रतिबद्धता गरेका छन् ।

अवलोकन पश्चात् अवलोकन टोली सकारात्मक देखिएका थिए । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका सञ्चालक समितिका सदस्य विजय राईले प्रादेशिक शाखाको सम्भावित ठाउँ पूर्वाञ्चल विश्वविद्यालय हुन सक्ने बताएका छन् । उनलाई ठाउँ राम्रो लागेको बताए । उनले भने, ‘पायक पनि पर्ने रहेछ, ठाउँ पनि राम्रो लाग्यो । शाखा विस्तारको निम्ति कतिको सम्भावना छ, त्यो हेर्न मात्र आएको हो । पहिलो पटकको अवलोकनमा पाएको सकारात्मक विषयलाई बोर्ड मिटिङमा राख्ने छु ।’

शाखा विस्तार हुँदा सञ्चालनको ५ वर्ष भित्र ओपन हर्ट सर्जरी गर्न सक्ने गरी तयार गर्ने राईले जनाएका छन् । राईका अनुसार मधेश प्रदेशको जनकपुरमा शाखा विस्तार भइसकेको छ । सरकारले ७ प्रदेशमा शाखा विस्तार गर्ने निर्णय गरेको हो । प्रदेश १ को लागि भने सुन्दरहरैँचाको पूर्वाञ्चल विश्वविद्यालय उपयुक्त रहनेमा विवाद रहित स्थानीय एकमत छन् । सुन्दरहरैँचा वडा नं.७ निवासी चण्डिका बास्तोलाले शाखाको सम्पर्क कार्यालयको लागि आफ्नो घर ६ महिना सम्मलाई निःशुल्क उपलब्ध गराउने समेत प्रतिबद्धता गरेका छन् ।

अवलोकनका क्रममा प्रदेश नं.१ को शाखा पूर्वाञ्चल विश्वविद्यालयमा उपयुक्त रहने सुन्दरहरैचा नगरपालिकाका प्रमुख गुरागाईँले बताएका छन् । शाखा विस्तार तथा सञ्चालनको लागि आवश्यक सबै सहयोग गर्न सुन्दरहरैँचा नगरपालिका तयार रहेको बताउँदै सकारात्मक निर्णयको आशासमेत गरेको प्रमुख गुरागाईँले बताएका छन् ।

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्रादेशिक शाखा विस्तारको लागि पूर्वाञ्चल विश्वविद्यालय अवलोकनसँगै नगर प्रमुख गुरागाईँको नेतृत्वमा सुन्दरहरैँचा भित्रका स्वास्थ्य केन्द्र तथा सुकुना बहुमुखी क्याम्पसको समेत अवलोकन भयो ।

 

प्रतिक्रिया दिनुहोस्