नेपाल जेसीजको ‘क्षेत्र क सम्मेलन २०२२’ सुन्दरहरैँचामा हुने : के.पी शर्मा ओली आउँदै


सुन्दरहरैँचा, १६ भदौ । नेपाल जेसीजको आयोजना तथा इन्द्रपुर जेसीजको आतिथ्यमा हुन गइरहेको क्षेत्र ‘क’ सम्मेलनमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी शर्मा ओली आउने भएका छन् । भदौ १७ गते ‘क्षेत्र क सम्मेलन २०२२’ को उद्घाटन समारोह ओलीको प्रमुख आतिथ्यमा हुने मूल समारोह समितिले बिहीबार सुन्दरहरैचा नगरपालिका वडा नं.१२ स्थित इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

स्थानीय क्षेत्रको पहिचान तथा व्यावसायिक वातावरण प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुन्दरहरैँचामा सम्मेलन गर्न लागेको आयोजकले बताएका छन् । आयोजकका अनुसार १० वर्ष पछि सुन्दरहरैँचामा क्षेत्र क सम्मेलन गर्ने अवसर मिलेको हो । यस अघि २०१२ मा भएको थियो ।

सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले पर्यटन प्रवर्द्धन तथा स्थानीय क्षेत्रको सकारात्मक प्रचार हुनेमा विश्वास रहेको बताएका छन् । अतिथिहरूलाई आतिथ्यको लागि सुन्दरहरैँचा नगरपालिकाको पनि सहयोग रहने प्रमुख गुरागाईँले बताए ।

इन्द्रपुर जेसीजका वर्तमान अध्यक्ष भवानी ढकालका अनुसार सम्मेलनको पहिलो दिन उद्घाटन समारोह हुने छ भने दोस्रो दिन शेयर मार्केट तथा उद्यमशीलता सम्बन्धी सेमिनार, अन्तरशाखा वक्तृत्वकला प्रतियोगिता, शान्ति पदयात्रा, सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण सहित समापन समारोह लगायतको कार्यक्रम हुने जनाएका छन् ।

पत्रकार सम्मेलनमा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल, सुन्दरहरैँचा वडा नं.९ का अध्यक्ष प्रकाश श्रेष्ठ, सुसेली एफएमका कार्यकारी प्रमुख बाबुराम निरौलाले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका थिए । सम्मेलनका सूचना तथा सञ्चार प्रविधि निर्देशक तथा इन्द्रपुर जेसीजका पूर्व अध्यक्ष कृष्ण ओझाले प्रेस नोट वाचन गरेका थिए ।

अतिथिहरूलाई बेलबारीको बेतना सिमसार, सुन्दरहरैँचा सुकुना बहुमुखी क्याम्पस, हसिना सिमसार, वृन्दावन, वाझोडा लगायत पर्यटकीय तथा धार्मिक स्थलको अवलोकन तथा भ्रमण गराउने ओझाले जानकारी गराएका छन् । ओझाका अनुसार करिब ६०० प्रतिनिधिको सहभागिता हुने छ ।

जेसीज नियम अनुसार इन्द्रपुर जेसीजका पूर्व अध्यक्ष तथा समारोहका सल्लाकार नगेन्द्र ढकालले धन्यवाद ज्ञापन गर्दै पत्रकार सम्मेलनको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्