सुन्दरहरैँचा नगरपालिकाद्वारा नगर विकास योजना पुस्तिका सार्वजनिक


सुन्दरहरैँचा, २० भदौ । सुन्दरहरैँचा नगरपालिकाद्वारा आर्थिक वर्ष २०७९/०८० को नगर विकास योजना पुस्तक सार्वजनिक गरेको छ । आइतबार नगरपालिका कार्यालयको सभाहलमा दशौँ नगरसभाबाट पारित वार्षिक नगर विकास योजना, बजेट, नीति तथा कार्यक्रम पुस्तक सार्वजनिक भएको हो ।

सांसद तथा पूर्व राज्यमन्त्री राजकुमार ओझा, जिल्ला समन्वय समितिको कार्यालय मोरङ, नेपाल प्रमुख अजम्बर राई, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँद्वारा संयुक्त रूपमा लोकार्पण भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ओझाले सङ्घीयताको संरक्षण तथा उन्नत बनाउने भूमिका जनप्रतिनिधिहरूको रहेको बताए । विभिन्न शीर्षकमा विनियोजित बजेटलाई नगरपालिकाका जनप्रनिधिहरुले रचनात्मक रूपमा काम गर्न ओझाले आग्रहले गरेका छन् ।

भौतिक पूर्वाधारको निर्माण मात्र हैन संरक्षण पनि ध्यान दिनु पर्ने ओझाले बताए । विगतमा ठुलो लगानीमा निर्माण भएको सडक तथा संरचनाहरू अहिले जीर्ण अवस्थामा पुगेकोले मर्मत सम्भार गर्नु पर्ने ओझाले बताए । सुन्दरहरैँचामा भएको खानेपानी समस्या, दिगो फोहोरको व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकास लगायतको विषयलाई प्राथमिकतामा राख्न नगरपालिकालाई ओझाले आग्रह गरेका छन् । सिङ्गो सुन्दरहरैँचाको विकासको लागि आफ्नो निरन्तर सहयोग रहने बताउँदै जनतालाई गरेको प्रतिबद्धता निर्वाचित जनप्रतिनिधिहरूले पुरा गर्नु तर्फ तत्पर हुन ओझाले आग्रह गरेका छन् ।

 

जिल्ला समन्वय समितिको कार्यालय मोरङ, नेपाल प्रमुख राईले शुभकामना व्यक्त गर्दै प्रत्यक्ष रूपमा जनताले बुझ्ने र देख्ने गरी सुन्दरहरैँचा नगरपालिकामा सुशासन र समृद्ध निर्माणमा जनप्रतिनिधिहरूले काम गर्ने छन् भन्ने विश्वस्त रहेको बताए । राईले भने, “प्रत्यक्ष रूपमा जनताले बुझ्ने खालको कार्य नीति तथा कार्यक्रम बढाउनु पर्छ । अनि मुस्कान सहितको सेवा जनताले पाउनु पर्छ ।”

यस आर्थिक वर्ष २ अर्ब ५ करोड १० लाख ५५ हजार ३ सय ९१ रुपैयाँको बजेट रहेको नगरपालिका प्रमुख गुरागाईँले जनाएका छन् । गत आर्थिक वर्षको दायित्वको रूपमा रहेको ३१ करोड ३४ लाख ७२ हजार ६ सय रुपैयाँ भुक्तानी गर्नु पर्ने रकमको समेत व्यवस्थापन गरेको उनेले बताए । कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विषयलाई नगरपालिकाले प्राथमिकतामा राखेको गुरागाईँले बताएका छन् ।

विगतमा सुरु भएका तर अधुरो रहेका पूर्वाधार विकासका योजनालाई सम्पन्न गर्दै थप योजनाहरू पनि अगाडी सारेको गुरागाईँले बताए । आधारभूत तहको शिक्षालाई गुणस्तरीय र व्यवस्थित बनाउने कार्य पहिलो सरोकारको विषय रहेको उनले बताए । सम्भव भएसम्म नजिकको इकाई वडा कार्यालयबाटै सबै सेवा जनतालाई सहज गरी उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले काम गरिरहेको बताए ।

भुक्तानी गर्दा जनताले प्रत्यक्ष थाहा पाउने गरी गर्ने गुरागाईँले बताए । उनले भने, ‘कुनै संरचनाको समयमै निर्माण सम्पन्न भए, अवलोकन तथा अनुगमन गरी नगरपालिकाले सोही निर्माण स्थलमा गएर जनताको माझमा चेक हस्तान्तरण गर्नेछौ ।’ नगरपालिका उपप्रमुख अकली चौधरीले स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रमबारे नगर प्रवक्ता तथा वडा नं. १२ का अध्यक्ष रोशन ढकालले प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्