बेलबारी नगरपालिकाद्वारा सेवानिवृत्त शिक्षक तथा कर्मचारीलाई सम्मान


https://youtu.be/VNAVJGmiFEkबेलबारी, २२ भाद्र । ४३ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर बेलबारी नगरपालिकाले सेवानिवृत्त शिक्षक तथा कर्मचारीलाई बिदाइ तथा सम्मान गरेको छ । नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा लामो समयसम्म काम गरेर हालसालै सेवानिवृत्त भएका शिक्षक तथा कर्मचारीलाई बिदाइ तथा सम्मान गरिएको हो ।

कार्यक्रममा मावि ४, निमावि ३ र प्राथमिक १६ गरी २३ जम्मा निवृत्त शिक्षक र तीन जना कर्मचारी गरेर २६ जनालाई सम्मान गरिएको नगरशिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइरालाले जनाएका छन् । उक्त कार्यक्रममा नवनियुक्त प्रधानाध्यापकहरूलाई सम्मान तथा स्वागतसमेत गरिएको थियो । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नीतु थापा कोइराला, शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसद कोइरालाले संयुक्त रूपमा दोसल्ला तथा सम्मान पत्रले उनीहरूलाई सम्मान गरेका थिए । नगरप्रमुख राईले सेवानिवृत्त शिक्षक तथा कर्मचारीलाई लामो समयसम्म नगरको शैक्षिक विकासमा योगदान गरेकोमा शुभकामना व्यक्त गर्दै बाँकी जीवन समाज रूपान्तरणका निम्ति योगदान दिन आग्रह गरे ।

परिवर्तनका लागि नेतृत्व असल हुनुपर्ने बताउँदै नगरप्रमुख राईले नव नियुक्त प्रधानाध्यापकलाई जिम्मेवारीबहन सहीतरिकाले गर्न पनि आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सेवानिवृत्त शिक्षक तथा कर्मचारीले नगरको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए । सेवानिवृत्त शिक्षकको तर्फबाट गोविन्द भण्डारी, नवनियुक्त प्रधानाध्यापकका तर्फबाट महेन्द्र मावि बेलबारी –१० का दीक्षा तुम्साले मन्तव्य राखेका थिए ।

लक्ष्मी मावि बेलबारी –११ का पूर्व प्रधानाध्यापकसमेत रहेका भण्डारीले नगरपालिकाले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै लामो समयसम्म सेवा गरेर बिदा हुने कर्मचारीहरूले भने खालीहात बिदाइ हुनु परेकोमा गुनासो व्यक्त गरे । उनले सेवानिवृत्त भए पनि नगरको सर्वाङ्गीण विकासमा आफूहरूको सहयोग सधैँ रहने बताए । त्यस्तै प्रधानाध्यापक तुम्साले विद्यालयमा धेरै समस्या रहेको, ती समस्यालाई भोगेको मानिसले मात्र बुझ्न सक्ने बताइन् । उनले असल अभिभावक पाएको भन्दै नगरप्रमुखलाई सबै विद्यालयको विकासमा लाग्न आग्रह गरिन् ।

उक्त कार्यक्रममा बेलबारीलाई बेलमय बनाउने अभियानका लागि बेलबृक्षका बेर्ना वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्