बाटो बिगारेको भन्दै स्थानीयद्वारा ट्रिफर सञ्चालनमा रोक


बेलबारी, २८ भाद्र । बाटो बिगारेको भन्दै मोरङको बेलबारीका स्थानीयले ट्रिफर सञ्चालनमा अवरोध गरेका छन् । बिहानै मिसगिटी उठाउन झरेका ट्रिफरलाई बेलबारी वडा न २ शान्ति चोकका स्थानीयले रोकेर पठाइदिएका हुन् ।

बेलबारी २ लालभित्ती दक्षिणमा रहेको स्टक उठाउन आएका सबै ट्रिफरलाई उनीहरूले रोकेर फिर्ता गरिदिए । टिफ्ररले बाटो बिगारेर हिँड्नै नहुने अवस्थामा पुगेकोले उनीहरूले अवरोध गरेर अर्को वैकल्पिक बाटोको प्रयोग गर्न भन्दै गाडी फिर्ता पठाइदिए ।

स्टक धनीले सो क्षेत्रमा रहेका युवाहरूसँग सहजीकरण गरेर २७ गतेबाट आफ्नो स्टक उठाउन सुरु गरेका थिए । स्थानीय युवा क्लबलाई खेलकुद सामग्री दिने सल्लाहका साथ स्टक उठाउन थालिएको बाइएको छ । तर स्थानीयले भने बाटो बिगारेर पाएका खेलकुद सामग्रीको कुनै औचित्य नरहेको, आफूहरू कुनै पनि हालतमा ट्रिफर सञ्चालन गर्न नदिने भनेर विरोधमा उत्रिएका छन् ।

स्थानीय होम पिठाकोटीले आफूहरूको चासो घरअघिको बाटो भएको, आफ्नो बाटो बिगारेको टुलु टुलु हेरेर बस्न नसकेकोले बिरोधका उत्रनु परेको बताए ।

स्थानीय भुवन कार्की भने स्टक धनीलाई वैकल्पिक बाटोको प्रयोग गरेर सामग्री उठाउन सल्लाह दिँदै भन्छन् ‘हाम्रो अवरोध भनेको आफ्नो घर अघिको बाटो बिग्रन दिनु हुन्न भन्ने मात्र हो । उहाँहरूले आफ्नो स्टक लान पाउनुहुनेछ तर वैकल्पिक बाटोको प्रयोग गर्नु पर्छ ।’

स्थानीय खगेन्द्र गिरी आफूहरू विकास विरोधी नभएको तर विकासका नाममा भएको बाटो बिगार्न नपाइने बताउँछन् ।
ट्रिफरले गर्दा बाटो हिँड्नसमेत अप्ठ्यारो हुने स्थानीय महिलाहरूको भनाइ रहेको छ ।

उता स्टक धनीमध्येका भुवन वन आफूहरूको बाटो बिगार्ने उद्देश्य नरहेको, बिग्रिएको बाटो बनाउन आफू तयार रहेको बताउँदै स्टक लैजान दिन स्थानीयसँग अनुरोध गरेका छन् । स्टक त्यसै रहँदा आफूहरूले ठुलो आर्थिक भार व्यहोर्नु परेको गुनासो गर्छन् । समय पाएमा एक हप्तामा सबै स्टक निकालिसकिने उनको भनाइ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्