बेलबारीमा भवन निर्माण व्यवसायीलाई दुई दिने तालिम


बेलबारी, २९ भाद्र । बेलबारीमा भवन निर्माण सम्बन्धी दुई दिने तालिमको सुरुवात भएको छ । बेलबारी नगरपालिकाले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर दुई दिने भूकम्प प्रतिरोधी भवन निर्माण तालिम सञ्चालन गरेको हो ।

नगरपालिकाको सभा हलमा सञ्चालन भएको कार्यक्रमलाई नगरप्रमुख दिलप्रसाद राईले उद्घाटन गरेका थिए । कार्यक्रमलाई संवोधन गर्दै नगरप्रमुख राईले वि.स. २०९० र २०४५ सालको भूकम्पको प्रसङ्ग उठाउँदै भूकम्प जतिखेर पनि आउन सक्ने र त्यसले ठुलो क्षति दिन सक्ने बताउँदै त्यसको तयारीमा अब लाग्नुपर्ने बेला आएको बताए ।

आधुनिक जमानामा उच्चतम प्रविधिको प्रयोगको आवश्यकता रहेको बताउँदै नगरप्रमुख राईले अब बन्ने नयाँ भवन तथा निर्माणहरू भूकम्पप्रतिरोधि हुनुपर्ने बताए ।

उपप्रमुख नीतु थापा कोइरालाले तालिमलाई फलदायी बनाउन सहभागीलाई आग्रह गरिन् ।
विषयको सैद्धान्तिक ज्ञान दिने उद्देश्यले यो तालिमको आयोजना गरिएको बेलबारी नगरपालिकाका घर नक्सा तथा इन्जिनियरिङ शाखाका प्रमुख वीरेन्द्र गिरीले बताए ।

दुई दिनसम्म चल्ने तालिममा बेलबारीका ७० जना निर्माण व्यवसायीहरूको उपस्थिति रहेको छ । तालिममा नगरपालिकाको घर नक्सा तथा इन्जिनियरिङ शाखाका कर्मचारीहरू वीरेन्द्र गिरी, सुशील सुवेदी लगायतको सहजीकरण रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्