भवन निर्माण गर्दा कानुनी प्रक्रिया पूरा गर्नु पर्ने सरोकारवालाहरूको भनाइ


बेलबारी, ३१ भाद्र । कानुनी प्रक्रिया पुरा नगरी भवन तथा कुनै पनि संरचनाको निर्माण गर्दा आर्थिक, भौतिक तथा मानवीय रुपमासमेत ठुलो क्षति हुने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । बेलबारीमा भवन निर्माण सम्बन्धी दुई दिने तालिम लिएर फर्किएका निर्माण व्यवसायीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

आफूहरू तालिमको पक्षमा रहेको बताउँदै यस तालिमले आफूहरूलाई थप सहयोग मिलेको निर्माण व्यवसायी रमेशकुमार तामाङ बताउँछन् । उनी विगत लामो समयदेखि यही पेसामा आबद्ध रहँदै आएका छन् । अर्का निर्माण व्यवसायीले विगत १० वर्षदेखि निर्माण व्यवसायमा रहँदै बताउँदै घरधनीले सस्तो काम लाउन खोज्ने र ठेकदारले सस्तो काम लिने कार्यले सुरक्षित भवन निर्माण हुन नसक्ने बताए ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै नगरप्रमुख राईले राष्ट्रिय भवन संहिताको पान गर्नुको कुनै विकल्प नरहेको बताए । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की सानो गल्तीले ठुलो क्षति हुनेतर्फ सचेत गराउँदै सुरक्षित बेलबारी बनाउने काममा सबैले लाग्नु पर्ने बेला आएको बताउँछन् । सुरक्षित बेलबारीको निर्माणका लागि आफू र नगरपालिकाको कर्मचारीको पुरै टिम कटिबद्ध रहेको र सबैले त्यसका सघाउनु पर्ने बताउँछन् ।

बेलबारी नगरपालिकाले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर दुई दिने भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम सञ्चालन गरेको थियो । तालिममा नगरभरिका ७० जना निर्माण व्यवसायीहरू सहभागी रहेको तालिमको सहजीकरण समेत गरेका नगरपालिकाका घर नक्सा तथा इन्जिनियरिङ शाखाका प्रमुख वीरेन्द्र गिरीले बताए । तालिमको समापन कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख नीतु थापा कोइराला, शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइराला, वडा नं २, ३ र ११ का अध्यक्षहरू क्रमशः कृष्णबहादुर गुरुङ, योगेन्द्र प्रसाद सुवेदी र विक्रम राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्