लालीगुराँस सहकारीको २८ औ साधारणसभा सम्पन्न


मोरङ । बेलबारी नगरपालिकाकै ठुलो सहकारीको रूपमा परिचित लालीगुराँस बचत तथा ऋण सहकारीले २८ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बेलबारी १ मा रहेको सांस्कृतिक सभाहलमा आयोजित कार्यक्रममा आफ्नो २८ औँ साधारणसभा सम्पन्न गरेको हो ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख दिलप्रसाद राईले सहकारीले पुराएको योगदानको कदर गर्दै सहकारी सदस्यको मनोभाव बुझेर अघि बढ्नुपर्ने बताए । नगरप्रमुख राईले नगरवासीलाई संविधान दिवसको शुभकामनासमेत प्रदान गर्दै सहरकारी सप्रिनमा त्यहाँ रहेका सञ्चालक तथा सबै सदस्यमा आर्थिक इमानदारिताको खाँचो रहेको औँल्याए ।

बेलबारी नगरपालिकाकी उपप्रमुख नीतु थापा कोइरालाले नगरकै जेठो संस्थाले सेयर सदस्यको हितमा काम गरिरहेकोमा खुसी व्यक्त गरिन् । उपप्रमुख थापाले संस्थाको आगामी दिनमा प्रगतिको कामनासमेत गरिन् । कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गाप्रसाद गौतमले संस्थालाई यो अवस्थासम्म ल्याइपुराउन अहोरात्र खटिरहने सबैलाई धन्यवाद दिँदै सबै सेयर सदस्यहरूलाई पुरै समय बसेर कार्यक्रमको बारेमा बुझ्न र आवश्यक सल्लाह र सुझाव दिन आग्रहसमेत गरे ।

कार्यक्रममा जिल्ला बचत सङ्घका सचिव रेकराज निरौला, प्रदेश बचत तथा ऋण सहकारी सङ्घका उपाध्यक्ष हरिप्रसाद सुवेदी, दीपज्योति नारीविकास सहकारीका अध्यक्ष एवम् जिल्ला बचत सङ्घका उपाध्यक्ष पार्वती बराल, बेलबारी नगरपालिकाका सहकारी विभागका प्रमुख इन्द्रमणि कट्टेल, हिमालय साकोसका अध्यक्ष शिवप्रसाद लामिछाने आदिको सहभागिता रहेको थियो ।

जिल्ला बचत सङ्घ मोरङका संस्थापक अध्यक्ष चन्द्रप्रकाश गौतमलाई लालीगुराँस सहकारी अवार्डबाट सम्मानित गरिएको थियो भने लालीगुराँस सहकारीको सदस्य रही आसन्न स्थानीय निर्वाचनमा विजयी बेलबारी नगरपालिका नं १, २ र ३ का अध्यक्षहरू क्रमशः मणिबहादुर पुलामी मगर, कृष्णबहादुर गुरुङ, योगेन्द्र सुवेदी र सदस्यहरूमा सञ्चमाया लिम्बू, दीपक लिम्बू लगायतका सातजनालाई सम्मान गरिएको थियो । त्यसै गरी कार्यक्रममा पूर्व सञ्चालक सम्मान, जेष्ठनागरिक सम्मान, उत्कृष्ट सेयर खरिदकर्ता सम्मान आदिबाट सेयर सदस्यलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा संस्थाको वार्षिक प्रगति विवरण संस्थाका सचिव नारायणप्रसाद आचार्य, आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजेन्द्र थापा र लेखा प्रतिवेदन लेखा सुपरिवेक्षण समिति संयोजक राजु बस्नेतले प्रस्तुत गरेका थिए । संस्थाले आजै बिहान रक्तदानको आयोजना गरेको थियो । रक्तदानमा ६१ प्रिन्ट रगत सङ्कलन भएको व्यवस्थापक केशव रुपाखेतीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्