जेसिसको ‘बेलबारीलाई सुनौँमा’ मनोज सुवेदी


बेलबारी, ६ असोज । बेलबारी जेसिसले लेट्स हियर बेलबारीमा खेलाडी मनोज सुवेदीलाई प्रस्तुत गरेको छ । बेलबारी –२ लालभित्तीमा रहेको शिक्षा सन्देश इं.स्कुलको सभाहलमा आयोजना गरिएको कार्यक्रममा बेलबारीका खेलाडी मनोज सुवेदीलाई प्रस्तुत गरेको हो ।

बेलबारी –३ का सुवेदी शारीरिक सुगठन प्रतियोगितामा पूर्वाञ्चल हुँदै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगितामा विभिन्न उपाधि हासिल गर्न सफल भएका छन् । उनले प्रदेशस्तरीय मिष्टर कञ्चनजङ्घामा हुँदै, नेपाल च्याम्पियनसमेत बनेका सुवेदी यही खेलले आफूलाई दुर्व्यसनीबाट बाहिर ल्याउन सहयोग गर्ने बताए । उनले आफू लागू औषध दुर्व्यसनीमा पर्दा र त्यसबाट बाहिर आउँदाको अनुभव पनि बताएका थिए ।

मनोजले आफूले चाहेमा सबै कुरा परिवर्तन गर्न सकिने बताउँदै विद्यार्थीहरूलाई यस्तो दुर्व्यसनीको बाटोले सफलता नभएर असफलतातर्फ डोर्‍याउने पनि बताए । विद्यार्थीलाई लक्षित गर्दै भने –तपाईँका आफ्ना वा छरछिमेकमा यदि कोही मानिस दुर्व्यसनीको बाटोमा हिँडेको पाएमा त्यस्तो बाटो छाडेर सम्मानित जीवन जिउने बाटो बनाउनेतर्फ सहजीकरण गर्नुहोला ।’

रिह्याव सेन्टर खोलेर उनले आफूजस्तै दुर्व्यसनीमा परेकालाई परिवर्तन गर्न सहयोगी भूमिका खेलेका थिए । दुर्व्यसनी छाडेर खेलकुदतर्फ आकर्षित भएका उनी पूर्वाञ्चल हुँदै शारीरिक सुगठनको राष्ट्रिय स्तरको विभिन्न क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगिताका उपाधि जितेका छन् । कार्यक्रममा विद्यार्थीले उनको जीवनसँग जोडिएका प्रश्नसमेत सोधेका थिए ।

बेलबारी जेसिसका कार्यकारी उपाध्यक्ष तथा जेसिस सप्ताहका मूल कार्यक्रम निर्देशक प्रशान्त निरौलाले कार्यक्रमको औचित्यको बारेमा प्रस्ट पारेका थिए । कार्यक्रममा बेलबारी जेसिसका वर्ष २० का अध्यक्ष राजेश खत्रीले जेसिस भनेको युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा काम गर्दै आएको संस्था भएको बताउँदै जेसिसले युवालाई अभिप्रेरणा जगाउने काम गरिरहेको बताए ।

बेलबारी जेसिसका अध्यक्ष नवराज सुवेदीले स्थानीय प्रतिभालाई प्रवर्धन गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको बताए । उनले मनोज बेलबारीका लागि उदाहरणीय रहेको बताए । कार्यक्रमको सञ्चालन महासचिव बिराज न्यौपानेको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्