‘बेलबारीका आदिवासी जनजाति पाइलाहरू’ स्मारिका सार्वजनिक


बेलबारी, ७ असोज। नेपाल आदिवासी जनजाति महासङ्ध नगर समन्वय परिषद् बेलबारीले प्रकाशनमा ल्याएको स्मारिका पुस्तक ‘बेलबारीका आदिवासी जनजाति पाइलाहरू’ सार्वजनिक भएको छ । बेलबारी ३ मा रहेको आदिवासी जनजाति सभाहलमा आयोजित एक कार्यक्रमका बिच आदिवासी जनजातिका रहनसहन र परम्परा एवम् संस्कृतिहरूलाई समेटेर तयार पारिएको पुस्तकको सार्वजनिकीकरण गरिएको हो ।

बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई, पूर्व सांसद एवम् स्रष्टा हर्कमान तामाङ, संविधान सभा सदस्य एवम् संस्कृतिकर्मी मधु गुरुङ लगायतले स्मारिकाको सार्वजनिक गरेका थिए । ३ सय ४० पृष्ठ रहेको स्मारिकामा आदिवासी जनजातिका संस्कृति, विचार, अन्तरवार्ता, स्रष्टा र सिर्जना एवम् गतिविधि र तस्बिरहरू समेटिएको छ ।

पुस्तक सार्वजनिकीकरण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दिलप्रसाद राईले देशमा प्रजातन्त्र आएपछि सबैखालका अवसरका ढोकाहरू खुलेको बताउँदै ती ढोका पहिल्याउन सक्नु पर्नेमा जोड दिए । आदिवासी जनजातिका सवालमा अझै पनि धेरै कुराको खोजी हुन बाँकी रहेको बताउँदै खोज बाँकी रहेका कुरालाई खोज र अनुसन्धानका माध्यमबाट बाहिर ल्याउनु पर्ने बताए । नगरप्रमुख राईले हाम्रो मौलिक संस्कृतिमाथि बाह्य संस्कृतिले हमला गरिरहेकोले त्यसतर्फ सचेत हुन पनि सबैसँग आग्रह गरे । प्रमुख अतिथि राईले बेलबारी नगरपालिकाले यसै आ.व.देखि धिमाल ‘भाषाका पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउने योजना गरिरहेको बताए ।

पूर्व सांसद एवम् स्रष्टा हर्कमान तामाङले नेपालको एकीकरणमा आदिवासी जनजातिको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सबै जातजातिका भाषा र संस्कृतिको जगेर्ना गर्ने कर्तव्य राज्यको रहेको बताए । उनले ऐतिहासिक कृतिको प्रकाशन भएकोमा आयोजक संस्थालाई धन्यवादसमेत दिए । संस्कृतिकर्मी संविधान सभा सदस्य मधु गुरुङले समाज रूपान्तरणमा संस्कृतिको ठुलो महत्त्व रहेको बताइन् । कार्यक्रममा साना सहरी खानेपानीको अध्यक्ष रुक्मिणि धिमाल, जनता समाजवादीका नगर अध्यक्ष तिलक साङपाङ् राई, माओवादी केन्द्रका नगर उपाध्यक्ष रामकुमार किराती, नेकपा एमालेका नगर अध्यक्ष ईरान राई लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

स्मारिका सार्वजनिकीकरण कार्यक्रममा विभिन्न जातीय संघ संस्था, सामाजिक संघ संस्थाका प्रतिनिधि, विभिन्न दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो । आदिवासी जनजाति नगर समन्वय समितिका अध्यक्ष तिलकप्रसाद राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव मनकुमार गुरुङको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्