पञ्चदीप ऋण तथा सहकारीको तेस्रो साधारणसभा सम्पन्न


बेलकारी, ९ असोज । मोरङको बेलबारी २ मा रहेको पञ्चदीप बचत ऋण सहकारीले शनिवार एक कार्यक्रमकाबिच आफ्नो तेस्रो साधारणसभा सम्पन्न गरेको छ । बेलबारी –२ लालभित्तीमा रहेको संस्थाको आफ्नै प्राङ्गणमा सम्पन्न साधारणसभाको उद्घाटन बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष कृष्णबहादुर गुरुङले गरेका थिए ।

उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नं २ का अध्यक्ष कृष्णबहादुर गुरुङले बचतका माध्यमबाट जनताको जीवनस्तर माथि उकास्ने काममा सहयोग गरिरहेकोमा पञ्चदीप सहकारीलाई शुभकामनासमेत व्यक्त गरे । अध्यक्ष गुरुङले वडामा भएका सङ्घ संस्थालाई व्यवस्थित गर्नेतर्फ आफूहरू लागिरहेको बताए । साधारण सभामा देखिएको न्यून उपस्थितिप्रति लक्षित गर्दै उनले साधारण सभामा सबै सदस्यले उपस्थित भएर छलफलमा सहभागी हुनुपर्ने बताए ।

जिल्ला बचत सङ्घ मोरङका सञ्चालक समिति सदस्य युवराज दाहालले व्याजको लोभमा परेर नचिनेका वित्तीय संस्थामा कारोबार गर्दा बचत नै गुम्ने खतरा भएकोले त्यस्ता नचिनेको संस्थामा कारबार गर्दा डराउनु पर्ने बताए । उनले बाहिरी जिल्लामा सञ्चालन भएर आफ्नो स्थानमा स्थापना भएका सेवा केन्द्रहरूबाट सचेत हुन आग्रहसमेत गरे । छरिएर रहेका सदस्यलाई व्यवसाय गर्न ऋण प्रवाह गर्नु पर्नेमा पछिल्लो समय त्यसो नगरी संस्थाले अनुत्पादक क्षेत्रमा लगानी गर्दा सहकारीमा सङ्कट पैदा भएको बताउँदै ऐनले नदिएका क्षेत्रमा लगानी गर्नु नहुने बताए ।

संस्थाका अध्यक्ष लक्ष्मणजङ्ग थापाले संस्थालाई यो अवस्थामा ल्याउन योगदान दिने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै प्रकारको सहयोगको आसा व्यक्त गरे । उक्त कार्यक्रममा बागदेवी सामुदायिक वनका अध्यक्ष फणीन्द्र थापा, बेलबारी बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रताप थापा, बालप्रतिभा स्कुल सुन्दररहैँचा १० का प्रधानाध्यापक गणेशप्रसाद दाहाल, बेलबारी नगरपालिका वडा नं २ निर्वाचित जनप्रतिनिधिहरू दीपक लिम्बू, बुन्दु विक, माधवराज निरौला, पूर्व कार्यपालिका सदस्य खीना थापा, जेष्ट नागरिक द्वय सनतकुमार ढकाल र डिल्लीबहादुर थापा लगायतको लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ज्येष्ठ सेयर सदस्य सम्मानबाट दिननाथ कोइराला र लक्ष्मीदेवी गिरी, असल बचतकर्तातर्फबाट मञ्जु रेग्मी पोखरेल, धनलाल उराव, तारादेवी राई र विमला राईलाई सम्मान गरिएको थियो । उपाध्यक्ष भूपाल बस्नेतबाट समितिको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष भीमकुमारी मगरबाट वार्षिक आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक तीर्थबहादुर न्यौपानेबाट लेखा तथा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत भएको थियो ।

कार्यक्रममा स्थानीय गायक सञ्जीव धिमाल र लक्ष्मी पौडेलको प्रस्तुति रहेको थियो । उपाध्यक्ष सिताराम न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भने संस्थाका सदस्य राजेन्द्र प्रसाद गिरीबाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्