बेलबारीमा बजार अनुगमनलाई तीव्रता


बेलबारी १० असोज । चाडपर्व भित्रिँदै जाँदा बेलबारी नगरपालिकाले अनुगमनलाई जोड दिएको छ । बेलबारी नगरपालिकाकी उपप्रमुख नीतु थापा कोइरालाको नेतृत्वमा गएको अनुगमन टोलीले बेलबारीका विभिन्न स्थानमा अनुगमन गरेको थियो ।

पहिलो दिन बेलबारी १० भाउन्ने बजार, ११ न. को लक्ष्मीमार्ग र ३ नं मा रहेको बेलबारी बजारमा अनुगमन गरेको थियो । चाडबाडलाई लक्षित गरेर पहिलो चरणमा खाध्यसामग्री बिक्री हुने पसलमा केन्द्रित भएर अनुगमन गरिएको भए पनि यसलाई निरन्तरता दिने र क्रमैसँग सबै पसलमा अनुगमन हुने नगर उपप्रमुख थापाले बताइन् ।

अनुगमनको क्रममा एउटा नाममा दर्ता भएर अर्कै व्यवसाय गरिएको, दर्ता नै नभएर कारोबार गरिरहेको, अधिकांश पसलमा मूल्य सूची नपाइएको, दर्ता नवीकरण नभएका, किराना पसलमा मदिराजन्य पदार्थसमेत पाइएको नगरस्तरीय बजार अनुगमन टोलीका संयोजक महेन्द्र खड्का बताउँछन् ।

पहिलो चरणमा सचेत गराइएर, तीन दिन भित्रमा सम्बन्धित निकायमा गएर दर्ता प्रक्रिया पुरा गर्न सचेत गराएर छाडिए पनि दोस्रो चरणदेखि भने नगरपालिकाले कारबाहीको प्रक्रिया अगाडि बढाउने टोलीका संयोजक खड्काले बताए । सोही क्रममा प्रदेश नं १ को पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निरीक्षक बाबुराम ढुङ्गानाको नेतृत्वमा एक टोलीले समेत अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्