राजनीतिक प्रतिसोधमा बदनाम गराउने कोसिस गरेको हो, आरोप सत्य भए सजाय भोग्नु तयार छु : दिल बहादुर राई


केराबारी, ११ असोज । केराबारी गाउँपालिका वडा नं.८ का वडा सदस्य दिल बहादुर राई भन्छन्, ‘मेरो विरुद्ध तस्करी गरेको आरोपमा समाचार सार्वजनिक भएको छ । त्यो झुटो हो ।’ राईको घरदेखि करिब डेढ किलोमिटर टाढा बेवारिसे अवस्थामा सालको काठ भेटिए पछि, काठ तस्करीको आरोपमा एक अनलाइन पत्रिकामा समाचार सार्वजनिक भएको थियो । तर समाचारमा लेखिए जस्तो सत्य नभएको राई बताउँछन् ।

राजनीतिक प्रतिसोध साधन खोजेको वडा सदस्य राई बताउँछन् । राई भन्छन्, ‘ समाचारमा मेरो घरमा भेटिएको भनिएको छ तर डेढ किलोमिटर टाढा खेतमा बेवारिसे अवस्थामा काठ भेटिएको हो ।’ सोही अनुसार प्रहरी, जनप्रतिनिधि तथा वनको प्रतिनिधिले मुचुल्का तयार गर्दा साची बसेको राई बताउँछन् । प्रहरीका अनुसार सोमबार वडा नं.८ स्थित निकासी टोलमा धान खेतमा चिरानी काठ र गोलिया काठ बेवारिसे अवस्थामा भेटिएको थियो । वडा सदस्यको घरदेखि दक्षिण तर्फ डेढ किलोमिटर टाढा धान खेतमा भेटिएको हो ।

राईसँगै आमजुङ्गी सामुदायिक वन समितिका अध्यक्ष जित बहादुर बस्नेतलाई पनि तस्करीको आरोप लागेको छ । बस्नेत मुचुल्कामा रोहबर बस्नु पर्दा आरोप खेप्नु परेको बताउँछन् । तर आफ्नो केही गल्ती नभएको बताउँछन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस क्याम लक्ष्मीमार्गले वडा सदस्यको घरमा नभएर धान खेतमा काठ भेटाएको जनाएको छ । प्रहरीले सालको चिराती काठ १२ थान र गोलिया काठ ११.७८ क्यु. फिट बरामद गरेको छ । उक्त काठ केराबारी सब डिभिजन कार्यालयमा बुझाएको छ ।

मुचुल्काको अनुसार वडा सदस्य राई र आमजुङ्गी सामुदायिक वन समितिका अध्यक्ष जित बहादुर बस्नेत रोहबरमा बसेर सब डिभिजन वन कार्यालयमा बुझाएको छ । मानिसलाई भ्रमित बनाउने कार्य बन्द गर्न आग्रह गर्दै, आरोप अनुसार सत्य ठहर भए कानुन बमोजिम सजाय भोग्न तयार रहेको वडा सदस्य राई बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्