बेलबारी प्रज्ञाप्रतिष्ठानकाे गठन विधि गलत भएको भन्दै नगरपालिकालाई ध्यानाकर्षण 


बेलबारी, १३ असोज । बेलबारी प्रज्ञाप्रतिष्ठानकाे गठनविधि गलत भएको भन्दै नगरपालिकालाई ध्यानाकर्षण बुझाइएको छ । भाषा, कला-साहित्य, गीतसङ्गीतकाे सर्वाङ्गीण विकासका लागि गठित प्रज्ञा प्रतिष्ठान दलीय भागबण्डा भएको भन्दै बिहीबार बिहान बेलबारीका साहित्यकार तथा पत्रकार केशु विरहीले निर्णय पुनर्विचार गर्न भन्दै बेलबारी नगरपालिकालाई ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षण बेलबारी नगरपालिकाकी उपप्रमुख नीतु थापा कोइराला, प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत सम्हालेका शिक्षा शाखा प्रमुख भूपेन्द्र प्रसाद कोइरालालाई ध्यानाकर्षण पत्र बुझाइएको हो । लामो समयदेखि साहित्यकारितासँग पत्रकारिता गर्दै आएका विरही पछिल्लो समय बेलबारीको साहित्यिक इतिहासको पुस्तक लेख्दै छन् ।

नगरपालिकामा बुझाइएको ध्यानाकर्षण पत्रमा भाषा, साहित्य, कला संस्कृतिको सर्वाङ्गीण विकासका लागि गठन हुने यस्ता संस्थामा क्षमता, योग्यता र योगदानलाई भन्दा पनि राजनीतिलाई मुख्य आधार बनाइनु दुखद रहेको भन्दै यसले बेलबारीको भाषा, साहित्य, कला संस्कृतिको जगेर्ना गर्न नसक्ने ठहर गर्दै गठन विधि गलत भएकोले त्यसलाई सुधार गर्न आग्रह गरिएको छ । भाषा, संस्कृति, कला, साहित्य र वाङ्मयकाे संरक्षणसम्बन्धी कार्य गर्ने साहित्य साधक तथा अनुसन्धानकर्ताहरूको साझा संस्थाको रूपमा हेरिएको बेलबारी प्रज्ञा प्रतिष्ठान दलीय भागबण्डामा गठन भएको भन्दै चौतर्फी विरोध सुरु भएको छ ।

बेलबारी नगरपालिकाले दलीय भागबण्डामा आधारमा प्रतिष्ठान गठन गरिएको भन्दै सम्बन्धित क्षेत्रका व्यक्तिहरूले नै असन्तुष्टि जनाउँदै आएका छन् । नगरपालिकाले ११ सदस्यीय तदर्थ समितिको गठन गरेको छ । बेलबारी नगरपालिकाको राजपत्र २०७८ कार्तिक २२ गते बेलबारी प्रज्ञा प्रतिष्ठान ऐन ,स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११९ (फ) ५ मा भएको व्यवस्थाअनुसार सोही ऐनको दफा १०२ को उपदफा १ बमोजिम नवौँ नगरसभाले सो ऐन पारित गरेको थियो ।

ऐनमा नगरपालिका भित्रका सबै भाषा,संस्कृति,कला साहित्य बांग्मय संरक्षण दर्शन तथा समाजशास्त्रको विकास सम्बन्धी कार्य गर्ने साहित्य साधक तथा अनुसन्धानकर्ताहरूको भोल बोलाई समावेशी सिद्धान्तको आधारमा ११ जना सदस्य रहेको तदर्थ समिति गठन गर्ने उल्लेख छ । ऐनमा उल्लेख भएअनुसार भन्दा पनि प्रज्ञा प्रतिष्ठानलाई दलीय भागबण्डामा गठन गरिँदा प्रज्ञा प्रतिष्ठान र प्राज्ञ शब्दको नै भद्दा मजाक भएकोले नगरपालिकाले तत्काल यो निर्णय सच्याउन दबाब दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्