अग्नि पीडित मिनाको परिवारमा फर्कियो खुसी : राष्ट्रिय युवा संघद्वारा घर हस्तान्तरण


केराबारी, १८ असोज । राष्ट्रिय युवा संघ नेपाल, केराबारीले अग्नि पीडित एक परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । मंगलबार महानवमीको दिन केराबारी गाउँपालिका वडा नं.५ का ठुलो राङ्चा निवासी मिना मगरलाई घर हस्तान्तरण गरेको हो ।

सोही नवनिर्मित घरमा उद्घाटन तथा हस्तान्तरण कार्यक्रमको आयोजना गरी केराबारी गाउँपालिकाका अध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपालका सदस्य सुमन मिरिङचिङ मगरद्वारा घरको चाबी मिना तथा उनका परिवारलाई हस्तान्तरण गरिएको छ । टिनको छानो भएको दुई कोठे पक्की घर मिनाको परिवारले पाएका छन् । घरमा निलो र गुलाबी रङ्ग लगाइएको छ भने शौचालय पनि जोडिएको छ ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मगरले राष्ट्रिय युवा संघ नेकपा एमालेको मेरुदण्ड रहेको बताए । देशमा आइपर्ने आपद्–विपद्मा सधैँ राष्ट्रिय युवा संघ नेपाल सबै भन्दा पहिलो सहयोग तथा समाधानको लागि उभिँदै आएको अध्यक्ष मगरले बताए । घर निर्माणमा आर्थिक तथा नैतिक सहयोग पुराउने सबैलाई धन्यवाद प्रदान गरेका छन् ।

२०७८ फाल्गुन २८ गते घर आगलागी भएको थियो । आगलागीमा घरमा भएको धन सबै क्षति भएको थियो । मिनाको परिवार घर विहीन भएका थिए भने आगोले खुसी पनि खरानी बनाएको थियो । तर राष्ट्रिय युवा संघ नेपालले २०७९ को दसैँमा उपहारस्वरूप नयाँ घर प्रदान गरेर मिनाको परिवारको खुसी फर्काएको छ । मिना भन्छिन्, ‘बस्ने ठाउँ थिएन, घर बनाउनु सक्ने स्थिति नै थिएन तर घर बनाइदिनु भो खुसी लागेको छ ।’

मिनाकी आमा धनमाया मगर पनि छोरी ज्वाइँले नयाँ घर पाउँदा असाधै खुसी छिन । आमा धनमाया भन्छिन्, ‘घर असाधै मन पारो खुसी लागेको छ । सबैलाई धन्यवाद दिन चाहन्छु । यतीको घर त कुन जुनीमा बनाउन सक्नुर ।’ आमा धनमाया खुसी हुँदै गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगर साथै राष्ट्रिय युवा संघ नेपाल, केराबारीलाई धन्यवाद प्रदान गर्छिन् ।

घर निर्माणमा प्रमुख आर्थिक सहयोग केराबारी गाउँपालिकाका अध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपालका सदस्य मगरद्वारा भएको राष्ट्रिय युवा संघ नेपाल, मोरङका सचिवालय सदस्य विवेक भुजेलले जनाएका छन् । भुजेलका अनुसार अध्यक्ष मगरले ५ लाख रुपैयाँ सहयोग गरेका छन् । साथै स्थानीयद्वारा संकलित आर्थिक सहयोगले घर निर्माण कार्य सम्पन्न भएको भुजेलले बताए ।

स्थानीय टिकाराम चापागाईँद्वारा १० हजार, धुर्बनारायण तिम्सिनाद्वारा १० हजार, गङ्गा लिम्बुद्वारा ३ हजार, लोकमान चेम्जोङद्वारा २ हजार ५ सय, विनीता सुब्बाद्वारा २ हजार ५ सय, खड्क बस्नेतद्वारा १ हजार, रामचन्द्र शाहीद्वारा १ हजार र राष्ट्रिय युवा सङ्घ नेपाल ५ नं वडा कमिटी केराबारी ५ द्वारा १२ हजार ५ सय आर्थिक सहयोग भएको भुजेलले बताए ।

हस्तान्तरण कार्यक्रममा नेकपा एमाले केराबारी गाउँपालिकाका उपाध्यक्ष राकेश राई, सहसचिव कविता राईले राष्ट्रिय युवा संघ नेपाल, केराबारीको कार्यको प्रशंसा गर्दै उदाहरणीय कार्यको लागि धन्यवाद प्रदान गरेका छन् । कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ नेपाल, केराबारीका सचिव निर्मला चेम्जोङले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्