बेलबारी नगरपालिकाद्वारा जनही १५ हजारसहित खेलाडीलाई बिदाइ तथा सम्मान : हेमन्तद्वारा जनही ३ हजार सहयोग


बेलबारी, २४ असोज । बेलबारी नगरपालिकाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भागलिन जाने खेलाडीलाई सम्मान तथा बिदाइ गरेको छ । बेलबारी नगरपालिकाको धनपालगढी सभाहलमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गर्दै बिदाइसमेत गरिएको हो ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नीतु थापा कोइराला र सामाजिक समितिका अध्यक्ष विक्रम बान्तवा राईले संयुक्त रूपमा खेलाडीलाई सम्मान तथा बिदाइ गरेका थिए । सम्मानित हुनेहरूमा ताइकन्डो खेलका राष्ट्रिय प्रशिक्षक राजेन्द्र धिमालसहित खेलाडीहरू निष्ठा राई, मञ्जिल राजवंशी, कुसुम राजवंशी, टेरिसा आचार्य, शान्ता तामाङ, कोमल श्रेष्ठ र किशोर गिरी रहेका छन् । खेलाडी तथा प्रशिक्षकलाई बेलबारीका पुराना खेलाडी हेमन्त सुवेदीबाट रु.३/३ हजार र नगरपालिकाबाट १५/१५ हजारसहित प्रतिखेलाडी १८ हजारका दरले नगदसमेत प्रदान गरिएको थियो ।

सम्मान पछिको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राईले खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा छनोट भएकोमा शुभकामना दिँदै राष्ट्रिय स्तरमै आफ्नो नाम सुनिश्चित गर्न शुभकामनासमेत दिए । नगरप्रमुख राईले नगरपालिका खेलकुदलाई संस्थागत गर्ने काममा लागेको पनि बताए । उपप्रमुख नीतु थापा कोइरालाले खेलाडी भनेका राष्ट्रका गहना भएको बताउँदै प्रतियोगिता जितेर नगर हुँदै देशलाई चिनाउन शुभकामना दिइन् । कार्यक्रमका सभापतिसमेत रहेका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बान्तवा राईले खेलाडीलाई शुभकामना दिँदै नगरपालिकाले चाँडै खेलकुद समितिलाई पूर्णता दिने र सबै वडामा भएका खेल र खेलाडीलाई व्यवस्थापन गरिने बताए । प्रतियोगितामा बेलबारीबाट ७ जना खेलाडी छनोटमा परेका छन् ।

यसअघि बेलबारी नगरपालिका वडा नं ८ र १० पनि सम्मान गरेका थिए । कार्यक्रममा बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइराला, नगरपालिकाका सामाजिक शाखाका प्रमुख झमक भट्टराई, बेलबारी नगरपालिका सामाजिक समितिका सदस्य एवम् कार्यपालिका सदस्य भिमकुमारी गुरुङ, ताइकन्डो खेलका राष्ट्रिय प्रशिक्षक राजेन्द्र धिमाल आदिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्