सातै प्रदेशका प्रदेश प्रमुख नियुक्तिको विषयमा नेकपा सचिवालयको बैठक


काठमाडौँ, १८ कात्तिक ।  सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेसँगै नयाँ नियुक्तिको विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक सुरु भएको छ ।

प्रदेशहरू प्रदेश प्रमुख विहीन हुँदा संवैधानिक सङ्कट आउने भएको हुँदा सोमबार नै नियुक्ति गर्ने तयारीको लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ ।
सातै प्रदेशका प्रदेश प्रमुखहरूको नियुक्तिबारे प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले सरकारलाई सिफारिस गर्ने छ ।

तत्कालीन शेरबहादुर देउवा सरकारले २०७४ माघ ३ गते नियुक्त भएका सातै सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई राष्ट्रपतिले बर्खास्त गरेकी थिइन् । प्रदेश प्रमुखहरूको नियुक्ति र बर्खास्त सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सातै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको थियो ।

सचिवालय बैठकमा नयाँ प्रदेश प्रमुखका लागि प्रस्तावित नामहरूबारे छलफल गरी आजै टुङ्गो लगाइने र मन्त्रिपरिषद् बैठक बसेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको तयारी रहेको नेकपा नेताहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्