सम्पूर्ण भारतीय भूतपूर्व सैनिक एवम् कर्मचारी संघको ११ औँ, गेन्थुगेको १० औँ साधारण सभा सम्पन्न


बेलबारी, २९ असोज । सम्पूर्ण भारतीय भूतपूर्व सैनिक एवम् कर्मचारी संघ नेपाल बेलबारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार बेलबारी नगरपालिका वडा नं.३ स्थित बौद्धिष्ट तमु गुम्बाको सभाहलमा सम्पन्न भएको हो ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे । गेन्थुगे बचत तथा ऋण सहकारी संस्था, बेलबारीको दसौँ वार्षिक साधारण सभा पनि आज नै सम्पन्न भएको छ ।

सम्पूर्ण भारतीय भूतपूर्व सैनिक एवम् कर्मचारी संघले भारतीय सेनाबाट अवकाश पाएका नेपालीहरूलाई समेटेर निर्माण गरिएको संस्था हो । संघका अनुसार नेपाली भारतीय सेना पेन्सन आए पछि आइपर्ने समस्याको समाधान पनि गर्दै आएको छ । यस संघले एकता र सामूहिकताको विकास गर्नुको साथै समस्याको समाधान केन्द्रको भूमिका खेलिरहेको छ ।

भारतीय भूतपूर्व सैनिकहरूकै लगानीमा सुरु गरिएको गेन्थुगे बचत तथा ऋण सहकारी संस्थामा १२७ जना महिला र ३०९ जना पुरुष गरी जम्मा ४३६ जना सदस्यहरू छन् । संस्थाको स्थापना २०६९ सालमा भएको सञ्चालन समितिको अध्यक्ष राजेश लिम्बुले जनाएका छन् । लिम्बुका अनुसार करिब १० वर्ष भित्र संस्थाले कुल पुँजी १ करोड भन्दा बढी बनाइसकेको छ ।

संयुक्त रूपमा भएको दुई संस्थाको ११ औँ र १० औँ साधारण सभा सम्पूर्ण भारतीय भूतपूर्व सैनिक एवम् कर्मचारी संघ नेपाल बेलबारीका अध्यक्ष ललित बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्