प्रत्यक्ष बचत तथा ऋण सहकारीको १० औँ साधारण सभा सम्पन्न


बेलबारी, ३१ असोज । लामो समयदेखि महिलाको हकहितका क्षेत्रमा काम गर्दै आएको संस्था नारी जागरण समूहको भगिनी संस्था प्रत्यक्ष बचत तथा ऋण सहकारीले आफ्नो १० औँ साधारण सभा सम्पन्न गरेको छ । बेलबारी– २, लालभित्ती, शान्ति चोकमा रहेको संस्थाको आफ्नै भवनमा सहकारीले एक कार्यक्रमकाबिच साधारण सभा सम्पन्न गरेको हो ।

उद्घाटन पछिको कार्यक्रमलाई संवोधन गर्दै बेलबारी नगरपालिकाका उपप्रमुख नीतु थापा कोइरालाले संविधानले महिलालाई पुरुषसरह समान हक प्रदान गरे पनि व्यवहारतः त्यस्तो नभएको, अझै पनि धेरै महिलाहरू संविधान प्रदत्त अधिकारबाट वञ्चित रहेको बताइन् । महिलाको नेतृत्वमा सञ्चालन भएका संस्थामा आर्थिक अनुशासन देखिएको बताउँदै यस्ता सङ्घ–संस्थाहरूलाई नगरपालिकाले सधैँ सहयोग गर्ने बताइन् ।

बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष कृष्णबहादुर गुरुङले संस्थाले समाजमा पुर्‍याएको योगदानको चर्चा गर्दै दिगो विकासमा वडाको पनि सहयोग रहने बताए ।

कार्यक्रममा असल बचततर्फ रञ्जना न्यौपाने र सविता गिरी पुरस्कृत भएका थिए भने ऐच्छिक बचततर्फ शिखा धिमाल, वाल बचततर्फ संयोग राई र अर्जुन शर्मा पुरस्कृत भएका थिए । त्यस्तै असल ऋणीमा दिलमाया माझी र असरी चौधरी, नियमित बचतमा नबिना राई र नर्वदा दाहाल पुरस्कृत भएका थिए ।

कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन व्यवस्थापक मञ्जु पोखरेल, कोष हिसाब कोषाध्यक्ष चिन्तादेवी उप्रेती र लेखा प्रतिवेदन लेखा संयोजक गङ्गा गिरीबाटबाट प्रस्तुत भएको थियो ।

कार्यक्रममा स्थानीय सञ्चारकर्मीसमेत रहेका लेखक केशु विरही, बेलबारी नगरपालिका वडा नं २ का वडा सदस्य मञ्जु रिजाल, पन्चदीप साकोसका कोषाध्यक्ष भीमकुमारी मगर र जग्गादाता माइतीसोभा राई लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष रामकुमारी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सेयर सदस्य तोया लिम्बूको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्